समाचार

पहिलो महिला प्रधानमन्त्रीको ऐतिहासिक क्षण



काठमाडौँमा आज एउटा अनौठो राजनीतिक मोड आएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ प्रयोग गर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीका रूपमा नियुक्त गरेका छन् ।

अघिल्ला सबै सरकारहरू संविधानको धारा–७६ अनुसार बनेका थिए। तर यसपटक भने राष्ट्रपतिले धारा–६१ को व्यवस्थालाई आधार मानेर कदम चालेका छन् । यही धाराले राष्ट्रपतिलाई राष्ट्राध्यक्षका रूपमा संविधान र संघीय कानुनअनुसार कार्य सम्पादन गर्ने अधिकार दिएको छ ।

यो निर्णय पछाडि हालैको “जेन–जी आन्दोलन”को ठूलो दबाब रहेको बताइन्छ । युवा पुस्ताले परिवर्तनको माग गरेपछि कार्कीलाई अगाडि ल्याउने बाटो खुल्यो ।

पहिले न्यायपालिकामा पहिलो महिला प्रधानन्यायाधीशको हैसियतले इतिहास रचेकी कार्की अहिले कार्यकारी नेतृत्वमा उभिएकी छिन् । अहिले राजधानीमा उनको शपथग्रहण समारोह चलिरहेको छ, जहाँ देशका नेता, नागरिक समाजका प्रतिनिधि र आन्दोलनमा उत्रिएका युवाहरूको उत्साह देखिन्छ ।

नेपालको राजनीतिक यात्रामा आजको दिन एउटा फरक अध्यायका रूपमा याद गरिने पक्का छ ।

प्रकाशित : २७ भाद्र २०८२, शुक्रबार, ,