काठमाडौँ — गएराति देशका धेरै भागमा पानी परेको छ। कतै मध्यम र केही स्थानमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
डोल्पाको ठूली भेरी नदी (त्रिपुराकोट जलमापन केन्द्र), रुकुम पश्चिमको ठूलो भेरी नदी (रिम्ना केन्द्र) र जाजरकोटका नलगाड तथा रौलाखेत जलमापन केन्द्रमा नदीको जलसतहले सतर्कता तह पार गरिसकेको छ।
महाशाखाका अनुसार यी नदी तथा खोलामा पानीको सतह बढ्दै गएकाले तटीय क्षेत्र र होचो भू–भागमा सतर्कता अपनाउन अनुरोध गरिएको छ। कमजोर तथा भिरालो भूभागमा पहिरोको जोखिम पनि रहेकोले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
त्यस्तै, म्याग्दीको म्याग्दी खोला (मङ्गलाघाट केन्द्र), सोलुखुम्बुको सोलुखोला (साल्मे केन्द्र) मा पनि जलसतह सतर्कता तह पार गरेको छ। नदी किनारका बस्ती र डुबान हुने स्थानहरूमा जोखिम बढिरहेको महाशाखाले जनाएको छ।
बझाङको बौलिगाड जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ। उदयपुरको गाइघाट, मुरखुचीबजार, चुरेमाई र सिरहाको लहान, सिराहा हाइड्रो वर्षामापन केन्द्रलगायत क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ। ती क्षेत्रमा अझै वर्षा जारी रहने सम्भावना छ।
त्रियुगा खोला, चहका खोला लगायत साना खोलामा पनि पानीको बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ। पर्वतको कालीगण्डकी नदी (मोदी बेनी केन्द्र) मा पनि जलसतह सतर्कता तह नजिक पुगेको र सतह बढ्दो अवस्थामा रहेकाले त्यस क्षेत्रमा पनि सतर्कता अपनाउन भनिएको छ।
काठमाडौँ उपत्यकामा पनि गएराति पानी परेको छ। भक्तपुरको हनुमन्ते खोलाको कौशलटार जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ। त्यस क्षेत्रमा पनि विहानसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ। सिन्धुपाल्चोकका गोब्रे, ढुङ्गे र नुर्पुगाउँ केन्द्रमा मध्यम वर्षा मापन गरिएको छ।
हिजो साँझ दाङको पधमपुर, रोल्पाको केवार गाउँ र अर्घाखाँचीको रणसिंह केन्द्र आसपासमा पनि मध्यम वर्षा भएको छ। झापामा एकसय उन्नाइस मिलिमिटर, सिरहामा ९८.६ मिलिमिटर र सप्तरीमा ९१ मिलिमिटर वर्षा मापन गरिएको छ।
महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार हाल कोशी र मधेश प्रदेशका केही स्थानमा सामान्य वर्षा भइरहेको छ। बाग्मती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही ठाउँमा पनि हल्का वर्षा जारी छ।
उनका अनुसार आगामी तीन दिनसम्म मनसुन सक्रिय रहनेछ। आज दिउँसो कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।








प्रतिक्रिया