अर्थ/ वाणिज्य

रुकुमकोट उद्योग वाणिज्य संघद्वारा कालोबजारी नगर्न आग्रह



रुकुम (पूर्व) । रुकुमकोट उद्योग वाणिज्य संघ ले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिका कारण बजारमा देखिन सक्ने असहज अवस्थालाई मध्यनजर गर्दै व्यवसायी तथा उपभोक्तालाई संयम अपनाउन आग्रह गरेको छ ।

संघले जारी गरेको प्रेस विज्ञप्तिमा मध्यपूर्व तथा पश्चिम एसिया क्षेत्रमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा असर परेको र त्यसको प्रभाव नेपालमा समेत देखिन सक्ने उल्लेख गरिएको छ । विशेष गरी ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुन सक्ने सम्भावनाले बजारमा आवश्यकताभन्दा बढी भण्डारण गर्ने प्रवृत्ति बढ्न थालेकोप्रति संघले चिन्ता व्यक्त गरेको छ ।

संघका अनुसार हालसम्म पेट्रोल, डिजेल र मट्टितेलको आपूर्तिमा कुनै गम्भीर समस्या देखिएको छैन । तर मूल्यवृद्धिको सम्भावनाका कारण दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न सक्ने संकेत देखिएकाले यस्तो अवस्थामा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी नगर्न व्यवसायीलाई आग्रह गरिएको छ ।

संघले सबै व्यवसायीलाई मौज्दातमा रहेका सामग्री उपभोक्तालाई सहज रूपमा उपलब्ध गराउन तथा सेवा भावका साथ व्यापार गर्न अनुरोध गरेको छ । साथै, सरकारलाई आपूर्ति प्रणालीलाई प्रभावकारी र पारदर्शी बनाउन आवश्यक समन्वय, अनुगमन तथा नियन्त्रणका उपायहरू अवलम्बन गर्न समेत सुझाव दिएको छ ।

त्यस्तै, उपभोक्तालाई पनि अनावश्यक रूपमा सामान सञ्चय नगर्न आग्रह गरिएको छ ।

संघका अध्यक्ष केनेन्द्र गौतमले हस्ताक्षर गरेको विज्ञप्तिमा वर्तमान विषम परिस्थितिमा सबै पक्षले सहकार्य र संयमता अपनाउनुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित : ४ चैत्र २०८२, बुधबार, ,