समाचार

विकट मतदान केन्द्रका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकाममा



रुकुम पूर्वमा रहेका विकट तथा सडक सञ्जालको पहुँच नभएका मतदान स्थलहरूबाट मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत सदरमुकाम रुकुमकोट ल्याइएको छ । सिस्ने गाउँपालिका – १ स्थित साविक पाखापानी, पुथा उत्तरगंगा गाउँपालिका – २ को पेल्मा र सोही वडाको आधारभूत विद्यालय हार्दिवाङबाट मतपेटिका हवाईमार्गबाट ढुवानी गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत इश्वरी प्रसाद सुवेदीका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । हाल गणनास्थलको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रुकुम पूर्वको प्रारम्भिक अन्तिम विवरणअनुसार जिल्लामा ५५.१७ प्रतिशत अर्थात् १९ हजार १८२ मत खसेको छ । जसमध्ये पुरुष ९ हजार १९ र महिला १० हजार १६३ जना रहेका छन् । स्थानीय तहअनुसार पुथा उत्तरगंगामा ६ हजार १३१, सिस्नेमा ६ हजार ७९० र भूमेमा ६ हजार २६१ मत खसेको छ ।

सबै मतपेटिका गणनास्थलमा पुगेपछि सर्वदलीय बैठक बसेर मतगणना प्रक्रिया सुरु गरिने सहायक निर्वाचन अधिकृत सुवेदीले जानकारी दिएका छन् । जिल्लाभर शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको प्रशासनले पुष्टि गरेको छ ।

प्रकाशित : २१ फाल्गुन २०८२, बिहिबार, ,