समाचार

पुष्पलाल लोकमार्गको रुकुमपूर्व खण्ड वर्षौँदेखि अलपत्र



रुकुमपूर्व । राष्ट्रिय गौरवको आयोजना मानिएको पुष्पलाल (मध्य-पहाडी) लोकमार्ग अन्तर्गत रुकुमपूर्व खण्डको निर्माण कार्य सुरु भएको करिब एक दशक बितिसक्दा पनि ठोस प्रगति हुन सकेको छैन । कागजमा मात्रै सीमित बनेको यो आयोजनाले स्थानीय नागरिकको आशा निराशामा परिणत हुँदै गएको छ ।

रुकुमपूर्व र बाग्लुङको सिमानामा पर्ने पातीहाल्नेदेखि भूमे गाउँपालिका – १ पञ्चासेसम्मको करिब १३ किलोमिटर सडक खण्ड कछुवाको गतिमा अघि बढ्दा यात्रु तथा स्थानीयले सास्ती खेप्न बाध्य छन् ।

२०७३ साल जेठ १३ गते सुरु भई २०७६ साल जेठ १२ गतेभित्र सम्पन्न गर्ने लक्ष्यसहित सिद्धीसाई, महादेव खिम्ती र भारत जेभीले ठेक्का लिएको उक्त सडक खण्डमा हालसम्म भौतिक प्रगति शून्यकै अवस्थामा छ । तोकिएको समय सकिएको वर्षौँ बित्दा पनि सडक निर्माण व्यवसायीहरुको लापरबाही प्रति नागरिकको गुनासो छ ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, दैलेखका  प्रमुख निरञ्जन थापाले आफू हालै मात्र जिम्मेवारीमा आएको बताउँदै ठेक्का तोड्नु सहज नभएको स्वीकार गरे । ठेक्का तोडिएपछि नयाँ प्रक्रिया सुरु गर्न डेढ – दुई वर्ष लाग्छ, उनले भने, त्यसैले निर्माण व्यवसायीहरूमार्फत नै काम अघि बढाउन सकिन्छ कि भन्ने प्रयासमा छौँ ।

उनका अनुसार निर्माण व्यवसायीले जाडो मौसमको कारण देखाउँदै काम गर्न नसकेको बताएका छन् । फागुन देखि चैत्र सम हेरौं त्यस अवधिसम्म पनि काम अघि नबढे ठेक्का तोड्नु बाहेक विकल्प हुँदैन, थापाले स्पष्ट पारे ।

जिल्ला प्रमुख अधिकारी सीता परियारले सरोकारवाला निकायबीच सहमति गराउने प्रयास गरिएको जानकारी दिइन् । उनका अनुसार गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष, सुरक्षा निकाय तथा निर्माण व्यवसायीसँग बैठक बसेर सहमति बनाइएको थियो । दुबै पक्ष सहमत भई काम गर्ने निष्कर्षमा पुगेका थिए, उनले भनिन् ।

उनका अनुसार केही दिनअघि भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत आयोजना हेर्ने डेस्क र निर्माण व्यवसायीसँग सम्पर्क गर्दा हालसम्म ठेक्का नतोडिएको जानकारी प्राप्त भएको छ ।

यसैबीच, भूमे गाउँपालिका – १, लुगुमका वडा अध्यक्ष मानकाजी पुन मगरले ठेकेदारको कार्यशैलीप्रति गम्भीर असन्तोष व्यक्त गरेका छन् । उनका अनुसार, काम गर्छु भनेर आउने, एक-दुई महिना डोजर चलाएर काम भएको जस्तो देखाउने र त्यसपछि सम्पर्कविहीन हुने अवस्था बारम्बार दोहोरिँदै आएको छ । यसरी जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले नागरिक निराश बनेका छन् ।

यसैबीच मध्यपहाडी पुष्पलाल लोकमार्गको बाग्लुङ सिमानामा पर्ने पातीहाल्ने, पञ्चासे, काँक्री, खाबाङ बगर, किमुबोट, जितखोला, दोमही, काँडा बगर हुँदै धौलापहिरासम्मका विभिन्न स्थानमा पहिरो, भत्किएका साथै अव्यवस्थित नाला तथा खाल्डाखुल्डी हुँदा यात्रुवाहक सवारी साधनले दैनिक जोखिम मोलेर यात्रा गर्नुपरेको छ ।।

प्रकाशित : ४ माघ २०८२, शनिबार, ,