रुकुम पूर्व । ब्रो बेकरी प्रा.लि. काठमाडौँको सहयोग र पुथा उत्तरगंगा गाउँपालिकाको समन्वयमा पुथा उत्तरगंगा गाउँपालिका – १० स्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा ८ सम्मका विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण गरिएको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा २२४ जना विद्यार्थीलाई टोपि, मोजा,पोसाक ( ट्र्याकसुट) , सिसाकलम, मेट्ने रबर , हात माच्ने ब्रस, दन्तमञ्जन (कोलगेट), केक तथा प्रतिव्यक्ति पाँच थानका दरले कापी वितरण गरिएको छ ।
कार्यक्रम पुथा उत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव बि.क.को अध्यक्षतामा सम्पन्न भएको हो । अध्यक्षता गर्दै प्रमुख प्रशासकीय अधिकृत बि.क.ले गाउँपालिकाको तर्फबाट सहयोगी ब्रो बेकरी प्रा.लि.लाई धन्यवाद व्यक्त गर्दै यस्ता सहयोग कार्यक्रमले दुर्गम क्षेत्रका बालबालिकाको शिक्षामा सकारात्मक प्रभाव पर्ने बताए ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी सीता परियार, विशेष अतिथिका रूपमा अनुसन्धान डीएसपी सुमनकुमार भण्डारी, नेपाल प्रहरी निरीक्षक लालबहादुर बि.क. , पत्रकार, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन हिक्मत पोर्तेलले गरे ।
ब्रो बेकरी प्रा.लि.का प्रबन्ध /निर्देशक विनोद ओझाले प्रत्येक वर्ष पछाडि परेका तथा विपन्न समुदायलाई सहयोग गर्ने चाहनाअनुसार यस्ता कार्यक्रम निरन्तर गर्दै आएको जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी सीता परियारले चिसो मौसममा न्यानो कपडासँगै न्यानो मन आवश्यक हुने उल्लेख गरिन । उनले आजको स्वार्थप्रधान समाजमा व्यक्तिगत लाभभन्दा माथि उठेर समाजसेवामा लाग्नु प्रशंसनीय कार्य भएको बताउँदै, पारिवारिक तथा व्यावसायिक जिम्मेवारी छाडेर बालबालिकाका लागि न्यानो कपडा र शैक्षिक सामग्री लिएर आउनु प्रेरणादायी भएको उल्लेख गरिन ।
कार्यक्रमले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसँगै आत्मबल र हौसला प्रदान गरेको सहभागीहरूको भनाइ छ ।









प्रतिक्रिया