समाचार

चुनवाङमा निर्माण कार्यका क्रममा लडेर एक मजदुर घाइते



रुकुम (पूर्वी भाग)को भूमे गाउँपालिका–९ अन्तर्गत चुनवाङस्थित भेरीडाँडामा रहेको शान्ति सङ्ग्रहालयमा निर्माण कार्यका क्रममा लडेर एक जना मजदुर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय चुनवाङका अनुसार लुम्बिनी प्रदेशको बाँके जिल्ला राप्ती सोनारी गाउँपालिका–६ निवासी वर्ष ४० का महावीर चौधरी आज दिइसो करिब ११:३० बजे मिस्त्री काम गर्ने क्रममा पक्की घरको दोस्रो तल्लाबाट लडेर घाइते भएका हुन् ।

घटनापछि घाइते चौधरीलाई उपचारका लागि सोही दिन साँझ ५:३० बजे जिल्ला अस्पताल रुकुमकोट ल्याइएको थियो । प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएकाले उनलाई मेडिकल कलेज कोहलपुर, बाँके रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेको टाउकोमा काटिएको घाउ लागेको छ भने शरीरका विभिन्न भागमा भित्री चोटसमेत देखिएको छ । हाल उनको अवस्था बोल्न सक्ने र मध्यम रहेको जनाइएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चुनवाङले जनाएको छ ।

प्रकाशित : ३ पुस २०८२, बिहिबार, ,