सीमित स्रोत–साधन र साँघुरो भौतिक संरचनाका बीच पनि रुकुमपूर्व अस्पतालले निरन्तर रूपमा सेवा विस्तार गर्दै जनताको विश्वास जित्न सफल हुँदै आएको छ । सावनदेखि कार्तिक मसान्तसम्मको स्वास्थ्य सेवा तथ्याङ्कले अस्पतालको सक्रियता, सेवा–समर्पण र प्रभावकारिता स्पष्ट देखाउँछ ।
अस्पतालका सूचना अधिकारी सृष्टि कोइरालाले उपलब्ध गराएको विवरणअनुसार, आँखा सेवामा ३३२, दन्त तथा मुख उपचारमा ४८३, फिजियोथेरापीमा ४३ नयाँ र ३२ पुराना सेवाग्राहीले सेवा लिएका छन् । एकद्वार संकट व्यवस्थापन केन्द्रबाट १२ नयाँ र ५ पुराना सेवाग्राही लाभान्वित भएका छन् ।
मातृ–स्वास्थ्य सेवाअन्तर्गत १५१ गर्भवती जाँच, ३७ सुरक्षित गर्भपतन तथा ७० जनालाई परिवार नियोजन सेवा प्रदान गरिएको छ । प्रयोगशालाबाट ३,३३६ वटा परीक्षण सम्पन्न गरिएको छ ।
यस अवधिमा ओपीडी/बहिरङ्ग सेवाबाट ४,२६०, इमर्जेन्सी सेवाबाट ९८३ सेवाग्राहीले सेवा लिएका छन् । भिडियो एक्स–रे सेवा १,१९२, ईसीजी ३२० र एक्स–रे सेवा १,३०४ जनालाई प्रदान गरिएको छ । अन्तरङ्ग सेवामा ३७४ जना भर्ना गरिएका छन् ।
प्रसूति सेवाअन्तर्गत ९१ वटा सुत्केरी सेवा सम्पन्न भएका छन्, जसमध्ये ९ वटा शल्यक्रियामार्फत गरिएको हो । १५ जनाले रिफर भएर अस्पतालमै सेवा लिएका छन् भने थप उपचार आवश्यक परेका ८४ जनालाई उच्चस्तरीय अस्पतालमा रिफर गरिएको छ ।
सामाजिक सुरक्षा एकाइअन्तर्गत ११ जनाले सेवा लिएका छन् । साथै, निशुल्क फार्मेसीबाट सरकारले तोकेअनुसारका औषधिहरू निरन्तर उपलब्ध गराइँदै आएको अस्पतालले जनाएको छ । सशुल्क फार्मेसीतर्फ, बाहिरका फार्मेसीमा पाइने मूल्यभन्दा कम दरमा औषधि उपलब्ध गराइँदै आएको छ । टेन्डर रेटमा २० प्रतिशतभन्दा बढी मार्जिन नराखिने र एमआरपी रेटमा कतिपय औषधिमा ५० देखि ७० प्रतिशतसम्म छुट दिइँदै आएको छ ।
यद्यपि, सेवाग्राहीको चाप बढेसँगै धेरैजसो अवस्थामा जनगुनासो पनि देखिने गरेका छन् । बिरामीको अत्यधिक चापका कारण लामो लाइन बस्नुपर्ने, ओपीडी सेवामा ढिलाइ हुने, सीमित जनशक्ति र साँघुरो भौतिक संरचनाका कारण सेवा लिन असहज हुने गुनासो सेवाग्राहीले गरेका छन् । धेरै अवस्थाहरूमा औषधि अभाव हुँदा बाहिरबाट किन्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खरालका अनुसार रुकुमपूर्व अस्पताल जनताको विश्वास जित्दै अघि बढिरहेको छ । उहाँ भन्नुहुन्छ, “रुकुमपूर्वका नागरिकलाई भरपर्दो, सुरक्षित र समयमै सेवा दिनु नै हाम्रो पहिलो दायित्व हो । बिरामीको चाप बढ्दै गएको छ, सेवा विस्तार भइरहेको छ, र जनताले अस्पतालप्रति देखाएको विश्वास नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो ।”
तर, सेवा प्रवाहसँगै अस्पतालले भोगिरहेका चुनौतीहरू पनि कम छैनन् । डा. खरालका अनुसार नयाँ भवनमा सर्न नसक्दा अस्पताल अझै पुरानै संरचनामा सीमित स्थानमा सेवा दिन बाध्य छ । बिरामीको संख्या धेरै भए पनि कोठा, वार्ड र बस्ने स्थान पर्याप्त छैन । पिउने पानीको अवरुद्ध आपूर्ति, औषधि आपूर्तिमा देखिने उतार–चढाव, उपकरणहरूको निरन्तर मर्मत–सम्भार, विद्युत् र जनशक्तिको अभावजस्ता चुनौतीबीच पनि स्वास्थ्यकर्मीहरू दिनरात जनसेवामा खटिएका छन् ।
अस्पतालले आगामी दिनमा मातृ–शिशु सेवा, आकस्मिक उपचार क्षमता, प्रयोगशाला, एक्स–रे तथा भिडियो एक्स–रे सेवाहरूलाई थप सुदृढ बनाउँदै लैजाने तयारी गरिरहेको छ । साथै, नयाँ भवनमा चाँडै सर्ने स्पष्ट योजना रहेको र त्यसपछि सेवा प्रवाह अझ व्यवस्थित, सुरक्षित र प्रभावकारी हुने अपेक्षा गरिएको डा. खरालले जानकारी दिनुभयो ।
रुकुमपूर्व अस्पतालको हालसम्मको सेवा विवरणले सीमित साधन–स्रोतका बाबजुद पनि जिल्लावासीको स्वास्थ्य सुरक्षाका लागि अस्पताल निरन्तर जिम्मेवार, सक्रिय र उन्नमुख रूपमा अघि बढिरहेको स्पष्ट देखिन्छ ।








प्रतिक्रिया