रुकुम पूर्व। “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसाको अन्त्य गरौँ” भन्ने मूल नाराका साथ मंसिर ९ गतेदेखि सुरु भएको १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान आज सिस्ने गाउँपालिका–६ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालय, छिप्रिदहमा सम्पन्न भएको छ।
समापन समारोहका विशेष अतिथि सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले विद्यार्थीलाई सचेत बनाउन विद्यालयमै कार्यक्रम आयोजना गरिएको बताउँदै, रुकुम पूर्वमा हिंसा विरुद्ध १६ दिन मात्र होइन, वर्षभरि नै निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, प्रमुख जिल्ला अधिकारी सीता परियारले विद्यालयहरूमा हप्तामा एक दिन विशेष कक्षा सञ्चालन गर्दै सबैलाई हिंसा विरुद्ध सचेत गराउनुपर्ने औँल्याउनुभयो। उहाँले महिलामाथि हुने हिंसाका रूप–प्रकृति फरक–फरक रहेकाले यसको अन्त्यका लागि घर–घरमै अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो।
उहाँका अनुसार सबै निकायको सक्रियताले लैङ्गिक हिंसा नियन्त्रणमा महत्वपूर्ण प्रगति हासिल गर्न सकिनेछ। अभियान अन्तर्गत प्रस्तुत गरिएको सडक नाटकका लागि सिस्ने गाउँपालिका बाल सञ्जाल समूहलाई २५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।
मानव रक्षक महिला सञ्जालकी अध्यक्ष सुसिला शर्मा दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी सीता परियार तथा विशेष अतिथि सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले रहनुभएको थियो। कार्यक्रममा सशस्त्र प्रहरी नायब उपरीक्षक सङ्गीत भट्ट, जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डिएसपी उमाशंकर यादव, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष किस कुमारी तुलाचनसहित जनप्रतिनिधि, सुरक्षा निकाय, महिला अधिकारकर्मी, शिक्षक, विद्यार्थी तथा अभिभावकको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रममा स्वागत मन्तव्य मानव रक्षक महिला सञ्जालकी उपाध्यक्ष निमा पुनले राख्नुभयो भने सञ्चालन सिस्ने गाउँपालिकाका मनोपरामर्शकर्ता सुगन्धा मल्लले गर्नुभएको थियो।








प्रतिक्रिया