स्थानीय सरकार

भूमे गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविरले बासिन्दालाई सुविधा पुर्‍यायो



रुकुमपूर्व, — दुर्गम बस्तीका बासिन्दालाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भूमे गाउँपालिकामा एकीकृत घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शिविर भूमे गाउँपालिकाको आयोजना र मिक नेपालको सहयोगमा स्वीकृत सेवा प्रवाह कार्यक्रमअन्तर्गत भएको हो ।

शिविर धर्मशाला–७ मा २३ गते र पोखरापाटा–८ मा २४ गते सञ्चालन गरिएको थियो ।

धर्मशाला–७ मा ४४ महिला र ३ पुरुष गरी जम्मा ४७ जना

पोखरापाटा–८ मा ४१ महिला र १ पुरुष गरी जम्मा ४२ जना

दुबै वडामा कुल ८५ महिला र ४ पुरुष, कुल ८९ सेवाग्राहीले सेवा लिएका थिए ।

धर्मशाला–७ का वडा अध्यक्ष संगम रोका मगरले भने, “गाउँपालिकाले दुर्गम क्षेत्रमा पुगेर आयोजना गरेको यो सेवा स्थानीय बासिन्दाका लागि अत्यन्त उपयोगी छ । गाउँकै महिलाले नजिकै विशेषज्ञ सेवा पाउनु गौरवको विषय हो । यस्ता शिविरले समुदायमा स्वास्थ्य सचेतना बढाएको छ ।”

पोखरापाटा–८ का वडा अध्यक्ष दिनेश रोकाले भने, “यस घुम्ती शिविरले गाउँका बासिन्दा आफ्नै गाउँमै स्वास्थ्य सेवा पाउने वातावरण बनेको छ । यसले जनमुखी प्रशासनलाई बलियो बनाएको छ । स्वास्थ्य, शिक्षा र जनसेवामुखी कार्यक्रमलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता छ ।”

गाउँपालिका उपाध्यक्ष सबिना बुढाले भनिन्, “घुम्ती शिविरले दुर्गम बस्तीमा सेवा पुर्‍याएर जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको छ । आगामी दिनमा यस्ता कार्यक्रम अझ प्रभावकारी रूपमा सञ्चालन गरिने योजना छ ।”

भूमे गाउँपालिकाका स्वास्थ्य अधिकृत उपेन्द्र यादवका अनुसार, शिविर विशेषतः महिला स्वास्थ्यमा केन्द्रित थियो । यसमा स्त्रीरोग विशेषज्ञ, भिडियो एक्स–रे, पाठेघर क्यान्सर परीक्षण सेवा उपलब्ध गराइएको थियो । उनले भने, “बाँकी दुर्गम बस्तीहरूमा पनि यस्तै सेवा पुर्‍याउने योजना रहेको छ ।”

उक्त शिविरमा डा. विनोद सिंह, डा. सहनशिला बुढा मगर, उपेन्द्र यादव लगायतका स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, शिक्षक र समाजसेवीहरू उपस्थित थिए ।

प्रकाशित : २६ कार्तिक २०८२, मंगलबार, ,