रुकुमपूर्व, २२ कार्तिक २०८२ — नागरिकको स्वास्थ्य सचेतना र पहुँच विस्तारका उद्देश्यले रुकुमपूर्वमा मिडियाकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
हिजो ( शुक्रवार) सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित बिएलबी होटलमा आयोजित कार्यक्रम स्वास्थ्य कार्यालय रुकुमपूर्वको आयोजनामा तथा नेपाल मगर समाज सेवा तथा सूचना केन्द्र (मिक नेपाल) र फेयरमेड फाउण्डेशन नेपालबीचको साझेदारीमा सञ्चालित “सम्बोधन परियोजना” अन्तर्गत सम्पन्न गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख मोहनबहादुर केसीले मिडियाले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख निमप्रसाद गिरीले बालविवाह रोकथाम र स्वास्थ्य सचेतनाका कार्यक्रम अझै विकट बस्तीसम्म पुगोस् भन्ने उद्देश्यका साथ थप जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
मिक नेपालका सचिव जयमान बुढामगरले संस्थाले बालविवाह रोकथाम र सरसफाइ अभियानलाई प्राथमिकता दिएको उल्लेख गर्दै “यो अभियान घर–घरबाटै सुरु हुनुपर्छ” भन्नेमा जोड दिए ।
त्यस्तै, नेपाल पत्रकार महासंघ रुकुमपूर्वका अध्यक्ष वशन्त बाँठामगरले मिडियाले यस्ता विषयहरू जनस्तरसम्म पु-याउँदै आएको बताए ।
कार्यक्रम मिक नेपालका सचिव जयमान बुढामगरको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन मिक नेपालका कार्यक्रम व्यवस्थापक मुकुन्द पुनमगरले गरेका थिए ।










प्रतिक्रिया