स्थानीय सरकार

जनताको माग अधुरो हुँदा वडा अध्यक्षको विद्रोही निर्णय



रोल्पा जिल्लाको थबाङ गाउँपालिका–२ का वडा अध्यक्ष अभिलाषा रोका मगरले विकास निर्माणका काममा बेवास्ता र स्थानीय जनताको गुनासो सुन्ने तत्परता नदेखिएको भन्दै वडा कार्यालय बन्द गरी साँचो (चाबी) गाउँपालिकालाई बुझाउनुभएको छ ।

उहाँले भोलि कार्तिक १३ गतेदेखि वडा कार्यालय पूर्ण रूपमा बन्द गर्ने निर्णय लिएको जानकारी दिनुभएको हो ।

वडा अध्यक्ष रोकामगरका अनुसार गाउँपालिकाभित्र पर्ने ग्रामीण सडक वर्षा समाप्त भएको लामो समयसम्म पनि नखुल्नु, केन्द्रीय विद्युत् प्रसारण लाइनको काममा ढिलासुस्ती हुनु, र विकासका अन्य कार्यहरूमा गाउँपालिका अध्यक्षसहित नेतृत्व तहको चासो नदेखिनु मुख्य कारण हुन् ।

उहाँले भन्नुभयो — “जनताको आवाजलाई बेवास्ता गरिँदै आएको छ । माग पूरा नभएसम्म म कार्यालय सञ्चालनमा फर्किँदिन । आवश्यकता परे पदबाट पनि राजीनामा दिन तयार छु ।”

थबाङ गाउँपालिकाका स्थानीयवासीहरू विकास कार्यको ढिलासुस्ती र निष्क्रियताप्रति असन्तुष्टि जनाउँदै आएका छन् । अध्यक्षको यो कदमपछि गाउँपालिकाभित्र अब बहस, छलफल र जनप्रतिनिधि तथा जनताको प्रतिक्रिया बढ्ने सम्भावना देखिन्छ ।

यस विषयमा थबाङ गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा मगरले आफूलाई उक्त घटनाबारे कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ । उहाँले भन्नुभयो — “म अहिले पालिकाको केन्द्रभन्दा बाहिर छु । यो विषयमा म अनविज्ञ छु । पालिकाको केन्द्र पुगेपछि मात्रै यसबारे थप कुरा थाहा हुनेछ ।”

(यो समाचार गोविन्द विश्वकर्मा सहयात्रीको सहयोगमा तयार पारिएको हो ।)

प्रकाशित : १३ कार्तिक २०८२, बुधबार, ,