रूकुम पूर्व । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सचिवालय सदस्य उपेन्द्रलाल कामीले हरेक धर्म र समाजमा क्रान्तिको राप–ताप अझै बाँकी रहेको उल्लेख गर्दै युवालाई समाजवादी आन्दोलनमा सक्रिय हुन आह्वान गरेका छन् ।
बुधबार रुकुमकोटस्थित होटल बीएलबीमा अखिल क्रान्तिकारी रुकुम पूर्वद्वारा आयोजित विजया दशमी तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले दशैं–तिहार केवल मनाउने पर्व मात्र नभई अन्तरक्रिया र वैचारिक आदान–प्रदानको अवसर पनि भएको जानकारी दिए ।
नेकपा माओवादी केन्द्रले समाजवादी क्रान्तिको नेतृत्व गर्नुपर्छ । संसदीय व्यवस्थामा नियमबद्ध ढंगले अघि बढ्नुपर्छ,” नेता कामीले भने । “पूँजीवादले केही ठोस उपलब्धि दिन सकेको छैन । एजेन्डा जेन–जेड आन्दोलनले समेटेको छ, श्रम उत्पादन र राजनीतिमा युवाको सक्रियता जरुरी छ ।”
उनले रुकुम पूर्वमा क्रान्तिका क्रममा धेरै रगत बगेको स्मरण गर्दै भने, “पहिले विचारमा आगो सल्काउनुपर्छ । पार्टीमा नेतालाई सिधा प्रश्न गर्ने संस्कार बसाल्नुपर्छ । जनवाद, समाजवाद, साम्यवाद हुँदै समाजवादी बाटोबाट पूँजीवादसम्मको यात्राबारे गहिरो बहस आवश्यक छ ।”
कामीले हरेक विद्यालयमा अखिल क्रान्तिकारीको संगठन सुदृढ गर्दै समाजवादी जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए ।








प्रतिक्रिया