रुकुम पूर्व । नेपाल दलित मुक्ति मोर्चा रुकुम पूर्वको पाँचौँ अन्तरक्रियात्मक बैठक मंगलबार सिस्ने गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ । बैठकमा दलित सशक्तीकरण, संगठन सुदृढीकरण तथा आगामी अभियानबारे विस्तृत छलफल भएको थियो ।
बैठकमा मोर्चाका संयोजक हर्कबिर कामीले दलित समुदायका युवालाई वैज्ञानिक राजनीतिक मार्गमा अघि बढ्न आह्वान गरेका छन् । उनले “दलित अधिकार र समानताको लडाइँ अब व्यवहारिक समाजवादमा पुग्नुपर्ने बेला आएको” उल्लेख गर्दै सक्रिय भूमिकाका लागि युवा पुस्तालाई उत्साहित गरेका हुन् ।
नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सचिवालय सदस्य उपेन्द्रलाल कामीले दलित सशक्तीकरण अभियानलाई पार्टीको समाजवादी यात्रासँग जोड्नुपर्नेमा जोड दिएका छन् । उनले देशमा आर्थिक असमानता र बेरोजगारी बढिरहेको वर्तमान परिस्थितिलाई चुनौतीका रूपमा प्रस्तुत गर्दै दलित समुदायको नेतृत्वले समाजवादी अर्थतन्त्र निर्माणमा योगदान पुर्याउनुपर्ने धारणा राखेका हुन् ।
मोर्चाका जिल्ला इन्चार्ज लिलाप्रसाद सुनार, अगुवा नेता जिताराम कामी, रुपधन कामी, रुद्र बिक, सूर्य बहादुर नेपाली लगायत वक्ताहरूले जनयुद्धको ऐतिहासिक उपलब्धीले दलित नेतृत्वको महत्व बढाएको उल्लेख गर्दै वर्तमान राजनीतिक अस्थिरता, बढ्दो महँगी र बेरोजगारीको अवस्थामा दलित समुदाय अझ सक्रिय भई संगठित हुनुपर्नेमा जोड दिए ।
त्यस्तै अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष चन्द्र रसाइलीले बैठकलाई शुभकामना व्यक्त गर्दै दलित मुक्तिको यात्रालाई युवा विद्यार्थी आन्दोलनसँग जोडेर अझ स्थायी रूपमा परिवर्तन गर्न आग्रह गर्दै समसामयिक राजनीतिक चुनौतीबारे धारणा व्यक्त गरेका छन् ।
बैठकले “समाजवादका लागि दलित जागरण अभियान” सञ्चालन गर्ने निर्णय गरेको छ । तीन महिनासम्म चल्ने सो अभियान अन्तर्गत २ हजार नयाँ सदस्यता वितरण, ३ पालिका–३१ वडा–१५० टोल कमिटी गठन तथा पुनर्गठन, १ करोड बराबरको दलित हित कोषको आधार तयार गर्ने, श्रमदानमार्फत विकास निर्माण, सामूहिक कृषि फार्म सञ्चालन, ३५ अन्तरक्रिया तथा जनप्रशिक्षण कार्यक्रमजस्ता गतिविधि तय गरिएको छ ।
मोर्चाले श्रमदान, आर्थिक पारदर्शिता र नियमित प्रतिवेदनमार्फत संगठनलाई सुदृढ बनाउँदै पार्टीको आसन्न विशेष महाधिवेशनमा दलितको प्रभावकारी सहभागिता सुनिश्चित गर्ने लक्ष्य पनि लिएको छ ।
बैठक मोर्चाका संयोजक हर्कबिर कामीको अध्यक्षतामा सम्पन्न भएको थियो । भने नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सचिवालय सदस्य उपेन्द्रलाल कामीको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै मोर्चाका जिल्ला इन्चार्ज लिलाप्रसाद सुनार, अगुवा नेता जिताराम कामी, रुपधन कामी, रुद्र बिक, सूर्य बहादुर नेपाली, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष चन्द्र रसाइली लगायतका नेता, पत्रकार, दलित अभियानकर्ता र दलित समुदायका नागरिकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मोर्चाका सचिव श्यामस्वर सुनारले गरेका थिए ।








प्रतिक्रिया