समाचार

रुकुमपूर्वमा छुट्टाछुट्टै घटनामा ३ जना घाइते



रुकुमपूर्व । जिल्लामा शुक्रबार छुट्टाछुट्टै घटनामा ३ जना घाइते भएका छन् । एक जना भीरबाट लडेर, एक जनालाई सर्पले टोकेर र अर्को एक जना मोटरसाइकल दुर्घटनामा घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।

सिस्ने गाउँपालिका–१ का करिब ५० वर्षीय ओलबहादुर बुढा घाँस काट्ने क्रममा भीरबाट लडेर घाइते भएका छन् । उनको करङ भाँचिएको छ र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भूमे गाउँपालिका–५ का २६ वर्षीय रामु सुनारलाई घर नजिकै बाटोमा हिँड्ने क्रममा सर्पले टोकेको हो । उनको अवस्था पनि मध्यम रहेको अस्पतालले जनाएको छ ।

त्यसैगरी, भूमे गाउँपालिका–२ सिसाघारीमा मोटरसाइकल दुर्घटनामा प्यूठान मल्लरानी गाउँपालिका–४ का २१ वर्षीय सरोज सुवेदी घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ ।

प्रकाशित : २७ भाद्र २०८२, शुक्रबार, ,