बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–४ र ५ को सिमानास्थित कानाबगरमा सडक निर्माणका क्रममा स्काभेटर बिग्रिएपछि आईतबार सवारी आवागमन ठप्प भएको थियो ।
स्काभेटर चालकले स्काभेटर सडकमै छोडेर सामान लिन जाँदा बस, जिप, एम्बुलेन्सलगायतका सवारी साधन करिब तीन घण्टासम्म रोकिएका थिए । बाटो खुलाउन आग्रह गर्दा चालकले “२ घण्टा कुर्नुहोस्” भन्दै सडक खुलाउन अस्वीकार गरेको यात्रुहरूको गुनासो छ ।
अन्ततः इलाका प्रहरी कार्यालय झीवाखोलाका प्रहरी सहायक निरीक्षक गिरु पौडेलको अगुवाइमा प्रहरी र यात्रुहरूले मिलेर सडक मर्मत गरी सवारी आवागमन सुचारु गरेका थिए । यात्रुले सुचारु गरेको सडकमा एक बस निकाल्दा पुन: सडक अवरुद्ध भएको छ ।
वडा अध्यक्ष टिकानिधि पौडेलले भने, “चालकको लापरबाहीले यात्रु र प्रहरीकै भरमा बाटो खोल्नुपर्यो, आपतकालीन सवारी आवतजावत सहज बनाउन निकायले तुरुन्त ध्यान दिनुपर्छ ।”
स्थानीयवासीहरूले सडक निर्माणका क्रममा आपतकालीन सवारी साधनको सहज आवतजावत सुनिश्चित गर्न सम्बन्धित निकायलाई माग गरेका छन् ।







































प्रतिक्रिया