समाचार

उपचारकै क्रममा प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन



लुम्बिनी प्रदेशसभाकी सदस्य सरिता पुन मगरको शनिबार उपचारकै क्रममा काठमाडौंमा निधन भएको छ ।

एमालेको समानुपातिक प्रणालीबाट रुकुमपूर्व प्रतिनिधित्व गर्ने पुनको निधनबारे प्रदेशसभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिएका छन् । एमाले पोलिटब्यूरो सदस्य तथा रुकुमपूर्व इन्चार्ज खेममान खड्काले पनि अस्पतालमा उनको निधन भएको छ भन्ने पुष्टि गरेका छन् ।

पुन रुकुमपूर्व, तकसेरा निवासी थिइन् । केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि उनलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज अन्तर्गतको मनमोहन कार्डियो–भ्यास्कुलर सेन्टरमा लगिएको थियो ।

अस्पतालमा एकैपटक दुईवटा ठूलो शल्यक्रिया गरिएको थियो— पहिलो शल्यक्रियामा उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रोमा मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । तर स्वास्थ्य जटिल भएपछि उनको जीवन बचाउन सकिएन ।

पुन लुम्बिनी प्रदेशसभामा अर्थ, पर्यटन तथा विकास समितिको सदस्य थिइन्। उनको असामयिक निधनले रुकुमपूर्व मात्र नभई सम्पूर्ण लुम्बिनी प्रदेशमा शोक छाएको छ। उनको बिहे गएको वर्ष रुकुम पश्चिममा भएको थियो ।

प्रकाशित : १४ भाद्र २०८२, शनिबार, ,