समाचार

रुकुमपूर्वमा विद्युत समस्या, सेवाग्राही आक्रान्त



रुकुमपूर्वमा केही दिनयता विद्युत आपूर्तिमा समस्या देखापरेको छ। बर्खायाम सुरु भएसँगै जिल्लाका धेरै स्थानमा विद्युत अनियमित हुने समस्या तीव्र बनेको हो।

सेवाग्राहीका अनुसार लगातार अनियमित विद्युत आपूर्तिका कारण दैनिक जीवन र कामकाज प्रभावित भएको छ। विद्युत नहुँदा साँझबिहान गृहकार्य गर्न कठिन भएको, बालबालिकालाई पढाउन वा सुताउन समस्या भएको, मोबाइल चार्ज नहुँदा सम्पर्कमा कठिनाइ भएको उनीहरूको गुनासो छ।

सिस्ने गाउँपालिका–५ का स्थानीय सुनिल विश्वकर्माले मात्र बिल तिरेर केन्द्रिय लाइनमा जोडिएकोमा पछुतो लागेको बताउनुभयो।
त्यस्तै, स्थानीय विष्णु बिकले विद्युत समयमै नआएपछि कार्यालयदेखि अन्य ठाउँसम्म काम प्रभावित भएको र यो नेपाल विद्युत प्राधिकरणको लापरबाहीको परिणाम भएको आरोप लगाउनुभयो।

यस्तै, स्थानीय जितेन्द्र बुढाथोकीले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै लेख्नुभएको छ, “होइन, कति सम्म लापरबाही हो नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, रुकुमपूर्वको? १२–१४ घण्टासम्म सेवा अवरुद्ध हुँदा कारण के हो? कहिले समस्या समाधान हुन्छ ? ग्राहकलाई कुनै जानकारी दिनु पर्दैन?”

यस विषयमा विद्युत प्राधिकरण वितरण केन्द्र, रुकुमपूर्वका प्रमुख प्रमोद खनालले दाङबाट आउने विद्युत विभिन्न स्थानमा वितरण हुँदा सल्यानमा फल बिग्रिएर अवरोध आएको जानकारी दिनुभयो। उहाँका अनुसार हिजो साँझ करिब ९ बजेदेखि विद्युत अवरुद्ध भएको हो। “छिट्टै समस्या समाधान हुँदैछ, करिब १ घण्टाभित्र विद्युत आउने सम्भावना छ,” खनालले भन्नुभयो।

उहाँले नजिकैका केही जलविद्युत योजनामा पहिरो जाँदा समेत आपूर्ति अवरुद्ध भएको र यस कारण रुकुमपूर्व–पश्चिम दुवै क्षेत्रमा विद्युत सेवा ठप्प भएको जानकारी दिनुभयो।

प्रकाशित : २ भाद्र २०८२, सोमबार, ,