समाचार

रुकुमपूर्वमा कृष्ण जन्माष्टमी प्रहरी कार्यालयमै मनाइयो



रुकुमपूर्व, ३१ श्रावण । जिल्ला प्रहरी कार्यालय, रुकुमपूर्वमा शनिबार कृष्ण जन्माष्टमीको अवसरमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

कार्यालय परिसरमै आयोजना गरिएको कार्यक्रममा पूजाआजा, भजन–कीर्तन, नृत्य तथा सामूहिक नृत्य प्रस्तुत गरिएको थियो। विभिन्न धार्मिक र सांस्कृतिक प्रस्तुतीकरणले कार्यक्रममा विविधता झल्काएको थियो।

कार्यक्रममा जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, प्रहरी कर्मचारी, स्थानीय समुदायका अगुवा तथा अन्य अतिथिहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा वक्ताहरूले भगवान् कृष्णको जन्म तथा उहाँसँग सम्बन्धित प्रसंगबारे प्रकाश पारेका थिए।

यसै अवसरमा, श्रावण महिनाभर जन्मदिन परेका प्रहरी कर्मचारीहरूको सामूहिक जन्मोत्सव पनि मनाइएको थियो। विशेष समारोहमार्फत केक काटी जन्मोत्सव मनाइएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले आफूले पदभार सम्हालेयता प्रत्येक महिनाको अन्तिम दिन सो महिनाभर जन्मदिन परेका प्रहरी कर्मचारीहरूको सामूहिक जन्मोत्सव मनाउने परम्परा सुरु गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, प्रहरीको व्यस्त जीवनशैलीका बीचमा यस्ता कार्यक्रमले मनोबल उच्च बनाउनका साथै पेशागत उत्साह थप्ने कार्य गरेको छ।

प्र.ना.उ. यादवले यस्ता कार्यक्रमहरूले संगठनभित्र सकारात्मक ऊर्जा थप्ने उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रकाशित : १ भाद्र २०८२, आइतबार, ,