समाचार

सिस्नेमा उष्ण प्रदेशीय रोगबारे महिला स्वयंसेविकालाई अभिमुखीकरण



रुकुम पूर्व — सिस्ने गाउँपालिका–३, पोखरा स्वास्थ्य चौकीमा साउन २२ गते महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिकाको आयोजनामा मिक नेपाल/सम्बोधन परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा गरिएको हो।

सिस्ने–३ र ४ का ९ जना स्वयंसेविकाले सहभागिता जनाएको तालिममा स्वास्थ्य संयोजक सुरेन्द्र प्रसाद यादव र स्वास्थ्य चौकी प्रमुख ज्ञानी ओलीले सहजीकरण गरेका थिए। कार्यक्रममा कुष्ठ रोग, हात्तीपाइले, कालाजार, रेबिज, सर्पदंश, डेङ्गु, जुका, लुतोलगायत १० प्रकारका रोगको पहिचान, प्रारम्भिक उपचार र समुदायमा सचेतना फैलाउने उपायबारे प्रशिक्षण दिइएको थियो ।

वडा अध्यक्ष हेराम खड्काले स्वयंसेविकाले प्राप्त गरेको ज्ञान र सीपले समुदायमा ठूलो प्रभाव पार्ने विश्वास व्यक्त गर्दै यस्ता तालिमलाई प्राथमिकतामा राखिएको बताए। स्वास्थ्य संयोजक यादवले पनि सिकाइलाई व्यवहारमा उतार्न आग्रह गर्दै मिक नेपाल/सम्बोधन परियोजनाप्रति आभार प्रकट गरेका छन्।

कार्यक्रममा फेयरमेड फाउन्डेसन नेपालका दान बहादुर कार्की, मिक नेपालका सम्पर्क व्यक्ति मुकुन्द पुनलगायतले आ–आफ्नो धारणा राखे। तालिमको सञ्चालन मिक नेपाल/सम्बोधन परियोजनाका प्राविधिक अधिकृत मदन शर्माले गरेका थिए।

प्रकाशित : ३१ श्रावण २०८२, शुक्रबार, ,