समाचार

देशभर मनसुनी प्रभाव सक्रिय, केही क्षेत्रमा भारी वर्षाको सम्भावना



काठमाडौं, १३ श्रावन, – देशभर हाल मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आकाश सामान्यतया बदली रहनेछ। कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने पनि अनुमान गरिएको छ।

आज राति लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आकाश सामान्यतया बदली रहनेछ भने तराईका अधिकांश भागमा आंशिक बदली रहनेछ। पहाडी क्षेत्रका केही स्थान र तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

साथै, सम्भावित वर्षाका कारण पहिरो, बाढी तथा सडक अवरुद्धजस्ता जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रकाशित : १४ श्रावण २०८२, मंगलबार, ,