समाचार

बाघ संरक्षण सफल, अब चुनौती व्यवस्थापनको



नेपालले बाघ संरक्षणमा उल्लेखनीय सफलता हासिल गरेको छ। सन् २०१० मा भएको सेन्टपिटर्सबर्ग सम्मेलनमा बाघ संख्या दोब्बर पार्ने विश्वव्यापी संकल्पपछि नेपालले सन् २००९ मा १२१ बाघलाई लक्ष्य बनाउँदै अभियान थालेको थियो। सन् २०२२ को गणनामा यो संख्या ३५५ पुगेको छ।

तर अहिले नेपालका निकुञ्जहरूले बाघ ‘धान्ने क्षमता’ करिब ४०० मात्रै रहेको प्रारम्भिक अध्ययन देखाएको छ। बाघको संख्या बढेसँगै मानव–बाघ द्वन्द्व, चोरीसिकार, पूर्वाधार निर्माणका कारण बाघको मृत्यु, र समस्याग्रस्त बाघको संख्या पनि बढिरहेको छ।

चितवनमा १२८, बर्दियामा १२५, पर्सामा ४१, शुक्लाफाँटामा ३६, र बाँकेमा २५ बाघ छन्। हाल १८ समस्याग्रस्त बाघ पक्रेर खोरमा राखिएको छ।

सरकार, संरक्षण संस्था र स्थानीय समुदायबीच सहकार्य गरी बासस्थान सुधार, चेतनामूलक कार्यक्रम, र वैकल्पिक जीविकोपार्जनमा जोड दिनुपर्ने विज्ञहरू सुझाउँछन्। संरक्षणको सफलता टिकाउ बनाउन अब गुणस्तरीय व्यवस्थापन र सहअस्तित्व अपरिहार्य भएको स्पष्ट देखिन्छ।

प्रकाशित : १४ श्रावण २०८२, मंगलबार, ,