home

टुहुरा बालबालिकालाई छात्रवृत्ति सँगै मृतकका परिवारलाई ‘क्रिया खर्च’ सहायता



बझाङ,– वित्थडचिर गाउँपालिका–६ मा विशेष सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न भएको छ। बिहीबार उक्त कार्यक्रममा १६ वर्षमुनिका, आमाबुवा दुवै गुमाएका ४० जना टुहुरा बालबालिकालाई प्रति व्यक्ति ५ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ ।

उक्त छात्रवृत्तिबाट बालबालिकाले विद्यालय पोसाक, झोला, कापी, कलमलगायतका शैक्षिक सामग्री खरिद गर्न सक्ने अपेक्षा गरिएको वडा नम्बर –६ का वडाध्यक्ष हरिस खड्काले बताउनुभयो ।

वडाध्यक्ष खड्काका अनुसार यस कार्यक्रमले गरिब, विपन्न तथा असहाय बालबालिकालाई विद्यालय जान प्रेरित गर्ने र उनीहरूको शैक्षिक भविष्य उज्ज्वल बनाउन मद्दत गर्ने उद्देश्य राखिएको छ । उहाँले भन्नुभयो, “आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुनुहुँदैन। हरेक बालबालिका शिक्षाको पहुँचभित्र ल्याउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।”

‘गृहकार्यसँग वडाध्यक्ष’ अभियान अन्तर्गत क्रिया खर्च सहयोग
कार्यक्रमकै अवसरमा ‘गृहकार्यसँग वडाध्यक्ष’ अभियानअन्तर्गत २०७९ साउनदेखि २०८० असार मसान्तसम्म वडा नम्बर ६ मा मृत्यु भएका १० जना व्यक्तिका परिवारलाई प्रति परिवार १० हजार रुपैयाँका दरले ‘क्रिया खर्च’ प्रदान गरिएको छ।

त्यही क्रममा, सामाजिक न्यायका लागि दलित महाअभियान भारतका केन्द्रीय सचिव सुशील ओखेडाले यस्ता कार्यक्रमले वडाको सामाजिक न्याय र मानवतावादी उत्तरदायित्वप्रतिको संवेदनशीलता झल्काउने बताएका छन्। स्थानीय नागरिकहरूले पनि यस्ता कार्यक्रमको प्रशंसा गर्दै निरन्तरता दिनुपर्ने माग गरेका छन्।

त्यस्तै मृत्युको पीडामा रहेका परिवारलाई सानो आर्थिक सहयोगले केही राहत मिलोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो।” कार्यक्रममा वडाध्यक्षसहित वडा कार्यालयका कर्मचारी, शिक्षक, अभिभावक, विद्यालय प्रतिनिधि, सामाजिक अभियन्ता तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रकाशित : ९ श्रावण २०८२, बिहिबार, ,