समाचार

बुटवलमा सर्पको बिगबिगी: तीन घरबाट ४० गोमनका बच्चा उद्धार



बुटवल, साउन १ —
रुपन्देहीका बुटवल, तिलोत्तमा र देवदहका तीन घरबाट एक साताको अवधिमा ४० वटा विषालु गोमन सर्पका बच्चा उद्धार गरिएको छ। घरभित्रै सर्पको गुँड भेटिएपछि स्थानीयवासी त्रसित भएका छन्।

तिलोत्तमा नगरपालिका–५ प्रेमनगरस्थित दिलराम अर्यालको घरमा खाना पकाउने क्रममा सर्पको टोकाइ भएपछि खोजी गर्दा लगातार तीन दिनसम्म २३ वटा गोमन सर्पका बच्चा भेटिए। उद्धारकर्ता विशाल पाण्डे नेतृत्वको टोलीले माउ सर्प गुँड बनाएर बच्चा पार्ने आशंकासहित भान्सा कोठाको र्‍याक मुनी खोजतलास गर्दा ती बच्चा भेटिएको बताइएको छ।

त्यसै दिन बुटवल उपमहानगरपालिका–११ देवसिद्धचोकस्थित शान्ति घिमिरेको घरबाट ८ वटा सर्पका बच्चा उद्धार गरिएको छ। अर्काे दिन देवदह नगरपालिका–८ टटेराका प्रेम खत्रीको घरबाट ९ वटा बच्चा फेला परेपछि टोलीले सुरक्षित तरिकाले सर्पलाई जंगलमा लगेर छाडेको जानकारी दिएको छ।

सर्प उद्धारमा सक्रिय विशाल पाण्डेले प्राकृतिक वासस्थान नष्ट हुँदा सर्पहरू मानिसको घरभित्र प्रवेश गरिरहेको बताए। उनले घरको भित्तामा फुटेका ठाउँ, पुराना र असुरक्षित संरचनामार्फत सर्प भित्रिने सम्भावना बढी हुने जनाए।

पछिल्लो समय घरभित्रै सर्प देखिने घटना बढ्दै गएको भन्दै उद्धारकर्ताहरूले त्रास फैलाउनु नभई सावधानी अपनाउन आग्रह गरेका छन्। सर्प देखिएमा तुरुन्तै उद्धार टोलीलाई खबर गर्न र घरेलु उपायमार्फत सर्प मार्ने प्रयास नगर्न पनि सुझाव दिइएको छ।

यसरी, विकासको नाममा जंगल कटान र प्राकृतिक चक्रमा हस्तक्षेप बढेसँगै सर्पजस्ता जीवहरू मानवीय बस्तीमा आउन बाध्य भएका छन्। विज्ञहरूले सन्तुलित सहअस्तित्व कायम गर्न चेतावनी दिएका छन्।

प्रकाशित : २ श्रावण २०८२, बिहिबार, ,