जेनेभा – खबरहब
विश्व मौसम विज्ञान सङ्गठन (WMO) ले सार्वजनिक गरेको नयाँ प्रतिवेदनले मानव स्वास्थ्य, वातावरण र अर्थतन्त्रमा गहिरो असर पार्ने धुलो र बालुवाको आँधी एक विश्वव्यापी विपद् बनेको पुष्टि गरेको छ।
१५० देशमा फैलिएको यस्तो आँधीले ३३ करोडभन्दा बढी मानिसलाई प्रभावित पारिरहेको र हरेक वर्ष करिब ७० लाख जनाको अकालमा मृत्यु यसैका कारण भइरहेको तथ्य सार्वजनिक भएको हो।
WMO का अनुसार, प्रत्येक वर्ष करिब २ अर्ब टन धुलो वायुमण्डलमा फैलिन्छ, जसको ८० प्रतिशतभन्दा बढी उत्तर अफ्रिका र मध्यपूर्वका मरुभूमिबाट उत्पन्न हुन्छ। यस्ता आँधीले सहारा मरुभूमिबाट सुरु भएर हजारौँ किलोमिटर टाढा क्यारेबियन, फ्लोरिडा र अमेरिका सम्म असर पारिरहेका छन्।
स्वास्थ्य क्षेत्रमा श्वासप्रश्वास, हृदय रोगजस्ता दीर्घरोग वृद्धि, कृषिमा २५% उत्पादन ह्रास, सौर्य ऊर्जा र यातायातमा अवरोध, र जबरजस्ती बसाइँसराइमा समेत यिनको भूमिका देखिएको छ।
मध्यपूर्व र उत्तर अफ्रिकामा मात्र यस्तो आँधीसँग जुध्न वार्षिक १ खर्ब ५० अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति हुने अनुमान गरिएको छ, जुन ती क्षेत्रहरूको जीडीपीको २.५ प्रतिशत हो।
विश्व स्वास्थ्य सङ्गठन (WHO) ले पनि चेतावनी दिँदै भनेको छ, सन् २०१८ देखि २०२२ सम्म ३ अर्ब ८० करोड मानिस WHO को सुरक्षित सीमा भन्दा बढी धुलोको सम्पर्कमा आएका छन्, जुन सन् २००७ भन्दा झण्डै ९० करोडले बढी हो।
यस गम्भीर संकटलाई बुझ्दै, संयुक्त राष्ट्रसंघले सन् २०२५–२०३४ लाई ‘धुलो र बालुवाको आँधीविरुद्धको दशक’ घोषणा गरेको छ। महासभाका अध्यक्ष फिलेमोन याङका अनुसार, “धुलो र बालुवाको आँधी हाम्रो समयको सबैभन्दा बेवास्ता गरिएका तर गहिरो प्रभाव पार्ने चुनौती हो।”














प्रतिक्रिया