ग्वाडालुप नदीको बाढीमा ४३ जनाको ज्यान गयो, २७ बालबालिका अझै हराइरहेका
टेक्सास – अमेरिकाको टेक्सास राज्यमा आएको ठूलो बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। ग्वाडालुप नदीमा आएको बाढीले १५ बालबालिकासहित कम्तीमा ४३ जनाको ज्यान गएको पुष्टि भएको छ। अझै पनि २७ जना – धेरैजसो १२ वर्ष मुनिका बालबालिका – हराइरहेका छन्।
शुक्रबार बिहानको समयमा बाढी आउँदा अधिकांश मानिस निदाइरहेका थिए। नदीको पानीको सतह आधा घण्टामै आठ मिटरले बढेपछि क्याम्पिङ साइट, मोबाइल घर र समर क्याम्पहरूमा ठूलो क्षति पुगेको हो।
सबैभन्दा धेरै असर क्रिस्चियन यूथ क्याम्प मा पर्यो, जहाँ बालबालिका रमाइलो गर्न गएका थिए। अहिले उद्धारकर्मीहरू हराइरहेका व्यक्तिहरूको खोजीमा खटिरहेका छन्।
टेक्सासका गभर्नर ग्रेट अबोट ले खोजी र उद्धार कार्य तीव्र गतिमा भइरहेको बताएका छन्। हालसम्म ८५० जनाको सकुशल उद्धार गरिएको छ। मौसम पूर्वानुमान अनुसार सो क्षेत्रमा अझै पानी पर्ने सम्भावना भएकाले जोखिम बढिरहेको छ।
धेरै आमाबुवाहरूले आफ्ना बच्चाहरू मृत अवस्थामा भेटिएको बताएका छन्। एक आमाले भावुक हुँदै भनिन्,
“मेरो छोरालाई छुट्टीमा रमाइलो गराउन पठाएकी थिएँ, तर फर्किएन।”
राष्ट्रपति डोनाल्ड ट्रम्प ले संघीय सरकार उद्धार र राहत कार्यमा स्थानीय सरकारसँग मिलेर सहयोग गरिरहेको बताएका छन्।
बाढीले टेक्सासमा ठूलो पीडा र शोक फैलाएको छ। कतिका घर बगेका छन्, कतिका परिवार टुटेका छन्, र धेरै अझै आशाको भरमा बाँचिरहेका छन्।



































प्रतिक्रिया