रुकुमपूर्व — रुकुम पूर्वको सदरमुकाम रुकुमकोटस्थित चाइनिज होटेलमा मंगलबार हुलाक सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जिल्ला हुलाक कार्यालय रुकुमपूर्वको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा हुलाक सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उपाय, ग्रामीण भेगमा सेवा विस्तारका चुनौती र समाधान, तथा स्थानीय तहहरूसँगको समन्वयबारे गहिरो छलफल गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले विज्ञान तथा प्रविधिको युगमा चिठीमार्फत सूचना सम्प्रेषण गर्ने तरिका अब पुरानो भइसकेको बताउनुभयो। उहाँले हुलाक सेवा सूचना प्रवाहको महत्वपूर्ण सूचक भएकाले यसलाई समयअनुकूल रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो।
भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले हुलाक सेवा परम्परागत सञ्चार माध्यम भएकाले यसलाई प्रविधिसँग जोड्दा सेवा प्रवाहमा गुणस्तर वृद्धि हुने धारणा व्यक्त गर्नुभयो।
सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले हुलाक सेवा प्रवाहलाई समयसापेक्ष रूपमा विकास गर्नु आवश्यक रहेको उल्लेख गर्दै हुलाक सेवामा अनलाइन होम डेलिभरी प्रणाली समावेश गर्नुपर्ने सुझाव दिनुभयो।
जिल्ला समन्वय समिति रुकुमपूर्वका उपप्रमुख मोहनबहादुर केसीले पनि हुलाक सेवा अब प्रविधिमुखी बनाइनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले विगतमा चिठीपत्र पठाउने माध्यमको रूपमा रहेको हुलाक सेवा अहिले मेल तथा इन्टरनेटजस्ता प्रविधिमार्फत सञ्चालित कार्य प्रणालीसँग जोडिनुपर्ने आवश्यकता रहेको बताउनुभयो।
जिल्ला हुलाक कार्यालयका निमित्त प्रमुख हर्कबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख केसी, विशेष अतिथि भूमे गाउँपालिकाका अध्यक्ष श्रेष्ठ, सिस्ने गाउँपालिकाका अध्यक्ष रेग्मी तथा प्रमुख जिल्ला अधिकारी न्यौपाने हुनुहुन्थ्यो।
कार्यक्रममा जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दल, संघसंस्था र सर्वसाधारण नागरिकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य हुलाक कार्यालयका खरिदार विरेन्द्र ओलीले राख्नुभएको थियो भने सञ्चालन सूचना अधिकारी कमल पौडेलले गर्नुभएको थियो।














प्रतिक्रिया