पर्यटन

धान दिवसको अवसरमा क्लबद्वारा वृक्षारोपण



रुकुम पश्चिमको मुसिकोट नगरपालिका–९ मा अवस्थित एकता समाज युवा क्लबले धान दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। आइतबार सम्पन्न कार्यक्रममा क्लबले वडाभरिका विभिन्न स्थानमा ४ सयभन्दा बढी बिरुवा रोपेपछि वातावरण संरक्षणमा योगदान पुर्‍याएको जनाएको छ।

कार्यक्रममा सहभागी स्थानीय १०३ घरधुरीहरूले ‘एक घर दुई बिरुवा’ अभियानअनुसार बिरुवा रोपेका थिए। त्यस्तै, जन शिक्षा आधारभूत विद्यालय परिसरमा ५९, बलचौर खेलमैदानमा ४० र कानेगारे काकर्शिम वन क्षेत्रमा १०० बिरुवा रोपिएको क्लब अध्यक्ष दुर्गाप्रसाद बिश्वकर्माले जानकारी दिए।

वृक्षारोपणमा चिउरी, मयुरपंकी, खोटे सल्लो, बेलपत्र, लप्सी, बाँस, कदम, वीरेन्द्र फूल, छत्तीबन र रिठ्ठाजस्ता बहुपयोगी बिरुवा छनोट गरिएको थियो। बिरुवाको व्यवस्थापन डिभिजन वन कार्यालयले गरेको हो भने समन्वय र कार्यान्वयन एकता समाज युवा क्लबले गरेको थियो।

कार्यक्रममा जनप्रतिनिधि, शिक्षक, सरकारी कर्मचारी, क्लबका पदाधिकारी र स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। क्लबले आगामी दिनमा पनि यस्ता गतिविधि निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित : १६ असार २०८२, सोमबार, ,