कृषि

असार १५: हिलो, गीत र दही चिउराको पर्व



रुकुमपूर्व, असार १५ — असारको हिलोमा रमाउँदै, गीत गाउँदै, खेतका छेउमै दही चिउरा खाएर आज देशभर ‘धान दिवस’ मनाइँदैछ। नेपालमा कृषिसंस्कृतिसँग गाँसिएको यो दिन, खेतिपाती गर्ने पुस्तादेखि लिएर शहरी जीवन बिताउनेहरूसम्मले आ-आफ्नै तरिकाले मनाउने गर्छन्।

२०६२ सालदेखि औपचारिक रूपमा ‘राष्ट्रिय धान दिवस’ घोषित असार १५, नेपालका किसानका लागि मात्र होइन, हरेक नेपालीका लागि विशेष बनिसकेको छ। खेतमा पस्नुपर्ने, हिलो सँग रम्नुपर्ने, र दही चिउराको स्वाद चाख्नुपर्ने दिनको रूपमा यसको सांस्कृतिक मूल्य झनै गहिरिँदै गएको छ।

आजको दिन असारे भाकामा लोकगीत गुञ्जन्छ — “छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला…”। खेतको हिलो र पसिनामा रमाउँदै, गाउँलेहरू गीतमार्फत जीवनको संघर्ष र उमंग दुवै अभिव्यक्त गर्छन्।

तर, यस वर्ष असारको मध्यसम्म आइपुग्दा धेरै ठाउँमा समयमै रोपाइँ हुन नसकेको गुनासो छ। केही ठाउँमा पर्याप्त वर्षा नपर्नु, कतै रासायनिक मलको अभावले किसानको मुहार मलिन देखिएको छ। यता, कृषि मन्त्रालयले भने मलको आपूर्ति पर्याप्त रहेको बताउँदै आएको छ।

यसै सन्दर्भमा, असार १५ ले मात्र कृषि होइन, स्वास्थ्य र आस्था पनि जोडेको पर्व हो। दही चिउरा, केवल खाना मात्र होइन, शक्ति, शीतलता र शुभ संकेतको प्रतीक बनिसकेको छ। आयुर्वेदमा पाचन सुधार्ने गुणयुक्त दहीलाई भोजनको अन्त्यमा लिनु उपयुक्त मानिन्छ। पखाला जस्ता स्वास्थ्य समस्यामा दही चिउरा औषधिको काम गर्छ भन्ने विश्वास पनि जनमानसमा रहेको छ।

हाम्रो समाजमा दहीको सांस्कृतिक पक्ष अझ गहिरो छ। घरबाट निस्कँदा निधारमा दही अक्षता लगाउने, शुभकामनासहित दही खुवाएर विदाइ गर्ने चलन अझै पनि जिवित छ। यही कारणले गर्दा असार १५ मा दही चिउरालाई मात्र खानाको रूपमा होइन, नेपालीपनको स्वादका रूपमा लिइन्छ।

आजको दिन, चाहे शहर होस् वा गाउँ, सबै नेपालीले खेतको हिलो सम्झन्छन्, गीत गुनगुनाउँछन् र दही चिउराको स्वादमा देश र माटोप्रतिको सम्बन्ध अझ मजबुत बनाउँछन्।

प्रकाशित : १५ असार २०८२, आइतबार, ,