रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका–१४, देउखोलामा यात्रा गर्न उपयुक्त बाटो नहुँदा स्थानीयवासी र यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। गत वर्षको बर्खामा गएको पहिरोले मुख्य सडक मार्ग अवरुद्ध बनाएपछि स्थानिय सरकारको पहलमा नजिकैको सानोभेरी नदी किनारमा अस्थायी रूपमा काठे पुल निर्माण गरिएको थियो। तर पुनः बर्खा याम नजिकिँदै गर्दा नदीमा पानीको मात्रा बढेसँगै यात्रुहरूलाई सोही पुल प्रयोग गर्दा ज्यान जोखिममा पार्नुपर्ने अवस्था आएको छ। सिस्ने गाउँपालिका–२ का स्थानीय बासिन्दा सुरेश रामजालीले नदीको बहाव तीव्र हुँदा काठे पुल पार गर्न अत्यन्तै कठिन भएको बताउनुभयो। उहाँले वृद्धवृद्धा, महिला र बालबालिकाहरूको यात्रा झनै जोखिमपूर्ण हुने उल्लेख गर्नुभयो। स्थानीय धनबहादुर कामीले बाटोको अवस्था सुधार गर्न स्थानीय सरकारले छिटो पहल गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भने, “यदि स्थायी पुल निर्माण गरियो भने बालबालिका र जेष्ठ नागरिकलाई सुरक्षित रूपमा यात्रा गर्न सकिने छ।” यस विषयमा वडास्तरीय ध्यानाकर्षण भइसकेको जानकारी दिंदै सिस्ने गाउँपालिका–२ का वडा सचिव खडक केसीले वडाबाट सक्दो पहल भइरहेको बताउनुभयो। उहाँका अनुसार आगामी वर्षभित्र देउखोलाको सडक खण्ड नायागाडासम्म विस्तार गर्ने तयारी भइरहेको छ। यसैबीच, वडा अध्यक्ष कृष्ण बहादुर खड्काले गत वर्षको बर्खामा बाटो भत्किएपछि पालिकाको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा अस्थायी काठे पुल निर्माण गरिएको जानकारी दिनुभयो। अहिलेको अवस्था अत्यन्तै जोखिमपूर्ण भएको भन्दै अध्यक्ष खड्काले वैकल्पिक सुरक्षित मार्गको खोजी भइरहेको र यही वर्षभित्र सानोभेरी नदीमा पक्की पुल निर्माणको डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार भइसकेको बताउनुभयो। उहाँका अनुसार आर्थिक वर्षसँगै देउखोला–नायागाड सडक खण्ड विस्तार गर्ने तयारी भइरहेको छ। साथै, अध्यक्ष खड्काले सिस्ने गाउँपालिका–१ र २ का बासिन्दालाई चाँडै नै सुरक्षित र सहज यात्रा गर्न सकिने वातावरण बन्ने आश्वासन दिनुभएको छ।
३० जेष्ठ २०८२, शुक्रबार, ,


































प्रतिक्रिया