रुकुमपूर्व सिस्ने गाउँपालिका–२ मा दलित लक्षित छुट्याइएको बजेट दलित समुदायको लागि कार्यान्वयन नभएको भन्दै स्थानीय दलितहरूले गुनासो गरेका छन् । दलित लक्षित बजेट दलित समुदायकै लागि नै कार्यान्वयन गर्नु पर्छ । तर उक्त बजेट अन्य काममा कार्यान्वयन गरेको भन्दै सिस्ने–२ का दलित समुदाय आक्रोशित भएका हुन् । उक्त कुरा पटक–पटक जानकारी गराउँदा समेत स्थानीय सरकारले बेवास्ता गर्दै आएको उहाँहरूको भनाइ रहेको छ । स्थानीय दलित अगुवा भागीराम कामीका अनुसार अघिल्लो स्थानीय सरकारले दलित समुदायको मागलाई सम्बोधन गर्दै विभिन्न कार्यक्रम तथा कार्ययोजना अघि सारेको थियो । तर हालको स्थानीय सरकारले त्यसप्रति चासो नदिएको उहाँको भनाइ छ । कामीले भन्नुभयो, “कानुनमा दलित समुदायको उत्थानका लागि बजेट अनिवार्य व्यवस्था गरिनु पर्छ भनेको छ तर, यहाँको वडाले दलित लक्षित बजेट अन्य योजनामा राखिदिएका छन् ।” अर्का धनबहादुर कामीले पनि भन्नुभयो, “कहिले वडाले भन्ने गरेको छ बजेट कार्यान्वयन भएको छैन्, त कहिले यो शीर्षकमा बजेट नै छैन् । दलित समुदायलाई निरन्तर बेवास्ता गरिँदै आएको छ ।” उहाँका अनुसार दलित समुदायलाई दिनुपर्ने सुविधा तथा अधिकारबाट अझै पनि वञ्चित गराउने प्रयास भइरहेको छ । दलित समुदायलाई झन पछाडि पार्ने काम भइरहेको सुरेश रामजालीले बताउनुभयो । “दलित आफैंमा पछाडि परेको समुदाय हो । अहिले त झन सेवा–सुविधाको जानकारी समेत हामीसँग छैन् ।”–उहाँले दुखेसो पोख्नुुभयो । आगामी आर्थिक वर्षमा पनि दलित समुदायको लक्षित बजेट अन्य योजनामा राखिदिएमा कडा आन्दोलन गर्न बाध्य हुने रामजालीले जानकारी दिनुभयो । वडाबाट निर्वाचित दलित वडा सदस्यलाई यो विषयमा केही जानकारी नभएको बताएका छन् । यस विषयमा सिस्ने–२ का वडाध्यक्ष कृष्णबहादुर खड्काले लक्षित वर्गका लागि छुट्याइएको बजेट ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, शहीद परिवार र बालबालिकाका लागि कार्यान्वयन गरिएको जानकारी दिनुभयो । वडाध्यक्ष खड्काले भन्नुभयो, “दलित समुदायका लागि छुट्टै बजेट छुट्याइएको छैन्। व्यक्तिगत पहलमा केही बजेट व्यवस्था गर्नुपर्ने आवश्यकता छ ।” आगामी दिनमा सबै लक्षित वर्गलाई समेटेर बजेटको सुनिश्चितता गर्ने खड्काले प्रतिवद्धता जनाउनुभयो । वडामा योजना तर्जुमा गर्दा लक्षित वर्गका लागि अनिवार्य रुपमा बजेट विनियोजन गर्नु पर्ने कानुनी प्रावधान रहेको छ ।।
३० जेष्ठ २०८२, शुक्रबार, ,








प्रतिक्रिया