समाचार

देशभर मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना



काठमाडौं, १७ साउन — हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले वर्षाको गतिविधि बढेको हो।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हाल हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा मापन गरिएको छ।

महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। यसैगरी, कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज रातिसमेत देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशका एक-दुई स्थानमा राति भारी वर्षा हुने सम्भावना रहेको छ।

भारी वर्षाको सम्भावना रहेको कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले नागरिकहरूलाई आग्रह गरेको छ।

प्रकाशित : १८ श्रावण २०८२, शनिबार, ,