समाचार

रुकुम पूर्वमा हरियो माटोको पूजा: हरेली पर्वमा किसानको बालीप्रेम



रुकुम पूर्व — साउन महिनाको एक आइतबार। बिहानैदेखि भूमे गाउँपालिका–३ सिमाका खेतबारीमा गुँगुनाहट सुनिन्थ्यो। न कोदो थन्क्याउने होड थियो, न धान रोपाइँको चटारो — त्यो दिन किसानहरू आफ्नो माटो र बालीलाई पुकार्दै पूजा गर्दै थिए। यो कुनै साधारण दिन थिएन, यो त हरेली पूजा मनाउने दिन थियो।

हरेली, अर्थात् हरियालीको पूजा। यो पर्व साउन १५ देखि २५ गतेभित्र आइपर्ने आइतबारका दिन मनाइन्छ। वर्षा यामको चरम अवस्थामा जब धानका बोटहरू ठुलिंदै जान्छन्, त्यही बेला किसानहरू खेतमा गई आफ्नो बालीको सुरक्षाका लागि परम्परागत ढंगले हरेली पूजा गर्छन्।

स्थानीय जानकार उदिम पुन मगरका अनुसार यो चलन पुर्खादेखि चल्दै आएको हो। “यो हाम्रो परम्परा मात्रै होइन, यो हाम्रो विश्वास र बालीप्रतिको कर्तव्य पनि हो,” उनले भने।

शनिबार पूजाको तयारी गरिन्छ। त्यस दिन खेतको बीचमा ‘भोकर’ भनिने मिहेल जातको हाँगा गाडिन्छ — त्यही पूजा स्थल बन्छ। आइतबार बिहान, किसानहरू हातमा अन्न, गहुँको पिठो र विविध सामग्री लिएर त्यही भोकरमा पुग्छन्।

राजन पुन मगर बताउँछन् — “हरेली पूजामा गहुँको पिठोबाट मुसा, बिरालो, सर्प, कीरा–फट्याङ्ग्रा र घरायसी सामग्री बनाइन्छ। बिरालोले मुसा खाओस्, किराले धान नखाओस् भन्ने मान्यताले ती आकृति बनाउने गरिन्छ।”

हरेली केवल पूजामात्र होइन, भावनाको उत्सव पनि हो। युवती जीवन सुनारको धारणा अनुसार — “हरेली किसानको बालीप्रतिको माया हो। अहिलेका केटाकेटी खेतीबाट टाढा छन्, त्यसैले यस्ता परम्पराको संरक्षण आवश्यक छ।”

पूजा सकिएपछि गाउँलेहरू चौतारीमा भेला हुन्छन्। सबैले आ–आफ्ना इच्छाअनुसार बर माग्छन् — कोही सन्तानका लागि, कोही विवाह, विद्यार्थीले विद्या, गरिबले धनको कामना गर्छन्।

अन्ततः हरेली पर्व रमाइलोमा परिणत हुन्छ — गीत, सङ्गीत र नाचगानका साथ। खेत, बारी, वनजङ्गल र जीवनमा शान्ति र समृद्धिको कामना गर्दै गाउँलेहरू परम्परागत भाकामा गाउँदै, नाच्दै दिन बिताउँछन्।

हरेली, प्रकृतिसँगको संवाद हो। माटोसँगको सम्बन्ध हो। अनि किसानको आफ्नै परिभाषामा रचित पूजाको पर्व हो।

प्रकाशित : १९ श्रावण २०८२, आइतबार, ,