रुकुम(पूर्व) — भुमे गाउँपालिका–४ काँडाबगरस्थित मध्यपहाडी लोकमार्गमा अटो र मोटरसाइकल ठोक्किँदा सात जना घाइते भएका छन् । शुक्रबार साँझ करिब ५:३० बजे खाबाङबगरबाट रुकुमकोटतर्फ आउँदै गरेको अटो र विपरीत दिशाबाट जाँदै गरेको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
लुम्बिनी प्रदेश–०२–००१ ह १४९३ नं.को अटो र कर्णाली प्रदेश–०३–००१ प ०७६८ नं.को मोटरसाइकल ठोक्किँदा अटोमा सवार पाँच र मोटरसाइकलमा दुई जना गरी सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)का सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिनुभयो ।
घाइतेहरूमा अटो चालक सहिन पुन ४५ वर्षीय , सुदिप पुन ११
वर्षीय अस्मिता झाक्री बुढामगर २७ वर्षीय, कर्मकमारी पुन ४३ वर्षीय, बचन बुढामगर ८ वर्षीय, मोटरसाइकल चालक गणेश शाही १८ वर्षीय र पछाडि सवार बसन्त भण्डारी १९ वर्षीय रहेका छन् ।
घाइतेहरूको उपचार जिल्ला अस्पताल रुकुमकोटमा भइरहेको छ भने कर्मकमारी पुनलाई थप उपचारका लागि पोखरा रेफर गरिएको प्रहरीले जनाएको छ ।
दुवै सवारी साधन क्षतिग्रस्त भई प्रहरी नियन्त्रणमा छन्। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)ले जनाएको छ ।



































प्रतिक्रिया