रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुकुमकोटमा रुकुमकोट बृहत् सांस्कृतिक तथा साहित्यिक कार्यक्रम सुरु भएको छ । तिहार तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा स्मृतिको अवसर पारेर शनिबार र आइतबार दुई दिनसम्म चल्ने उक्त कार्यक्रम आज शनिबारदेखि सुरु गरिएको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल र सिस्ने गाउँपालिकाको सहकार्य तथा विभिन्न व्यक्ति र कार्यालयहरूको सहयोगमा प्रगतिशिल लेखक संघ, राप्ति साहित्य परिषद् र लुम्बिनी बाङ्मय प्रतिष्ठान रुकुमपूर्वको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्घाटन सत्र सुरु हुनुअघि रुकुमकोट बजार परिक्रमा गरिएको थियो । त्यसपछि सिस्ने गाउँपालिकाको सभाहलमा औपचारिक उद्घाटन सत्र सम्पन्न गरिएको हो । उद्घाटन कार्यक्रममा विभिन्न झाँकी प्रदर्शन, अतिथिहरूका शुभकामना मन्तव्य र स्रष्टाहरूको रचना वाचन समावेश थियो ।
आइतबार बिहान १० बजे सिस्ने–६ स्थित त्रिभुवन जनता माध्यमिक विद्यालय, छिप्रीदहमा अन्तर विद्यालय स्तरीय कविता वाचन प्रतियोगिता तथा स्थान हासिल गर्ने प्रतियोगीहरूलाई पुरस्कार वितरण कार्यक्रम हुनेछ भन्ने जानकारी आयोजकले दिएको छ ।
उद्घाटन कार्यक्रम प्रगतिशिल लेखक संघ रुकुमपूर्वका अध्यक्ष उपेन्द्रलाल कामीको अध्यक्षतामा सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल प्रज्ञा प्रतिष्ठान नेपालका सचिव धनप्रसाद सुवेदी, विशेष अतिथिका रूपमा जिल्ला समन्वय समिति रुकुमपूर्वका उपप्रमुख मोहनबहादुर केसी, सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मी र प्रमुख जिल्ला अधिकारी सीता परियार सहभागी हुनु भएको थियो ।
जिल्लास्थित विभिन्न कार्यालय र संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको पनि उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य राप्ति साहित्य परिषद् रुकुमपूर्वकी अध्यक्ष जमुना गौतम पुनले राख्नुभएको थियो भने सञ्चालन राप्ति साहित्य परिषद्की सचिव उर्मिला गौतमले गर्नुभएको थियो ।



































प्रतिक्रिया