रूकुम पूर्व । नेकपा माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सामजिक सञ्जालमा भएका गलत प्रचारको विरोध गर्दै रूकुम पूर्वमा अखिल क्रान्तिकारी र वाइसीएल नेपालले संयुक्त ज्ञापनपत्र पेस गरेका छन् ।
बुधवार जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी सहित तीन सुरक्षा निकायलाई पार्टीको जनवर्गीय संगठन अखिल क्रान्तिकारी र वाइसीएल नेपालले ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा जेन्जी आन्दोलनपछी देशलाई अस्थिर बनाउन नियोजित रूपमा भ्रम फैलाउने प्रवृत्तिहरू सक्रिय रहेको उल्लेख गर्दै पूर्व एआइजी देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेले प्रचण्डमाथि गरेको गलत प्रचारको भर्त्सना गर्दै विरुद्ध गरेको आरोपलाई भ्रामक र आपराधिक गतिविधि भएको बताइएको छ ।
दुवै संगठनले झूठा प्रचार गर्ने व्यक्तिमाथि कानूनी कारबाही गर्न, राजनीतिक प्रतिशोधका नाममा दमन नगर्न र अन्यायपूर्ण गतिविधि रोक्न माग गरेका छन् । माग पूरा नभए संयुक्त आन्दोलनमा उत्रिने चेतावनी पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
वाइसीएल नेपाल रुकुम पूर्वका अध्यक्ष नामेन्द्र सुनार र अखिल क्रान्तिकारीका अध्यक्ष चन्द्र रसाइलीले हस्ताक्षर गरेको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी सीता परियारले सो माग तत्काल गृह मन्त्रालयमा पठाउने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरीका प्रमुखहरू, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि, वाइसीएलका पदाधिकारी, विद्यार्थी नेता लगायत पत्रकारहरूको समेत उपस्थिति रहेको थियो ।



































प्रतिक्रिया