समाचार

रुकुम पूर्वमा सम्भावित दुर्घटना र आन्दोलन नियन्त्रणका नमूना अभ्यास



रुकुम पूर्व । पछिल्ला समयमा हुन सक्ने विभिन्न घटनालाई लक्षित गरी रुकुम पूर्वमा नमूना अभ्यास कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वको आयोजनामा सडक दुर्घटनापछि उद्धार कार्य तथा विभिन्न आन्दोलनका क्रममा हुन सक्ने भीड नियन्त्रणसम्बन्धी नमूना अभ्यास गरिएको हो ।

बुधबार सिस्ने गाउँपालिका–५, रुकुमकोटमा गरिएको उक्त अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले प्राविधिक सहयोग गरेका थिए । कार्यक्रममा सडक दुर्घटना पछि कसरी उद्धार गर्ने, आन्दोलनका क्रममा उत्पन्न भिडलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा तीनै सुरक्षा निकायले संयुक्त रूपमा अभ्यास प्रदर्शन गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी सीता परियारले यस्तो अभ्यासले आकस्मिक दुर्घटना र आन्दोलनका बेला जनधनको सुरक्षामा सहयोग पुग्ने बताए ।

सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले अभ्यासले सुरक्षाकर्मी र स्थानीयबासीमा जनधन सुरक्षाप्रति सचेतना बढाउने बताएका छन् ।

जिल्ला समन्वय समिति प्रमुख मेघबहादुर श्रेष्ठले अभ्यासमा सुरक्षाकर्मीहरूले भीड नियन्त्रणका प्रभावकारी तरिका प्रदर्शन गरेको बताएका छन् ।

कार्यक्रमले आकस्मिक घटनाको बेला सुरक्षाकर्मीको भूमिका कस्तो हुने र जनधनको रक्षा कसरी गर्ने भन्ने विषयमा स्पष्ट सन्देश दिएको छ ।

प्रकाशित : २९ आश्विन २०८२, बुधबार, ,