चाडपर्व

दशैंकाे रौनक : गाउघरमा चहलपहल, बजार शुन्य



रूकुम पूर्व। दशैं नजिकिँदै गर्दा सदरमुकाम रुकुमकोट लगायत भूमे गाउँपालिकाकाे मुख्य व्यापारिक केन्द्र खाबाङबगर बजार र पुथा उत्तरगंगा गाउँपालिकाकाे मुख्य व्यापारिक केन्द्र तकसेरा बजारबाट गाउँ फर्किनेको भिड बढेको छ । गाउँ फर्कनेको भीड बढेसँगै बजारहरू दिनानुदिन सुनसान बन्दै गएका छन् भने गाउँघरहरूमा भने चहलपहल बढेको छ ।

पर्व नजिकिँदै गर्दा यात्रुहरूको चाप बढेसँगै यातायातका साधनहरूमा तछाडमछाड भइरहेको छ । “हरेक वर्ष दसैंको समय यस्तो भीड हुन्छ, तर यसपालि अझै बढी यात्रुहरू गाउँ फर्किरहेका छन्,” रुकुमकोट यातायात प्रालिका उपाध्यक्ष गणेश शाहले भन्नुभयो ।

त्यस्तै, स्थानीय व्यवसायीहरूले बजारमा किनमेल गर्नेको सङ्ख्या घटेर गाउँ फर्कनेको चाप बढेको बताएका छन् । सदरमुकाम रुकुमकाेटमा इगल फेसन हाउस सञ्चालन गर्दै आउनुभएका बलबहादुर मल्ल भन्नुहुन्छ, “दसैं आउनु अघिसम्म बजारमा रौनक हुने गर्छ, अहिले भने गाउँ फर्किनेहरूको भीडमात्रै हाे व्यापार खासै छैन, बजार सुनसान हुँदै गएको छ ।”

रुकुमपूर्वका ग्रामीण गाउँहरूमा पर्वको अवसरमा घर फर्किनेको भीड बढ्दा गाउँघरहरूमा रौनक छाएको छ । ग्रामीण भेगका घर–घरमा सपरिवार जम्मा हुने, चहलपहल बढ्ने र मेलापातको वातावरण देखिएको छ ।

स्थानीय होटल तथा यातायात व्यवसायीका अनुसार पर्व नजिकिँदै गर्दा यस्तो दृश्य प्रत्येक वर्ष दोहोरिने गरेको भए पनि यस वर्ष यात्रुहरूको चाप झनै बढी देखिएको हाे । राजधानी काठमाडौं लगायतका मुख्य सहरहरूमा जेनजीकाे आन्दोलन पश्चात् सबैले यसपटक आफ्नो जन्म भूमि फर्किने गरि बजार छाड्न थालेका छन् । जसले गर्दा यसपटकको दशैं तिहारमा गाउँघर नै रमाइलो हुने पक्का छ ।।

प्रकाशित : १३ आश्विन २०८२, सोमबार, ,