रुकुमपूर्व । रुकुमपूर्वलाई अर्गानिक जिल्लामा रुपान्तरण गर्ने सामुहिक प्रतिबद्धतासहित आन्तरिक निरीक्षकका लागि पुनर्ताजकी तालिम शुक्रबार सम्पन्न भएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुमपूर्वको आयोजनामा भदौ १८ देखि २० गतेसम्म तीन दिन बि.एल.बि होटलमा सञ्चालन भएको उक्त तालिममा जिल्लालाई साँच्चिकै अर्गानिक बनाउन आवश्यक आधार र रणनीतिबारे विस्तृत छलफल गरिएको छ ।
कार्यालयका अनुसार तालिमले आन्तरिक निरीक्षकहरुको क्षमता अभिवृद्धि गरी विषादी तथा रासायनिक प्रयोगको निगरानी, अर्गानिक उत्पादनका मापदण्ड, निरीक्षण प्रक्रिया, किसानलाई प्राविधिक परामर्श दिने तरिका, उत्पादनको प्रमाणीकरण र बजारसम्म पुर्याउने रणनीति लगायत विषयमा व्यावहारिक ज्ञान उपलब्ध गराएको छ । दीर्घकालीन रुपमा जिल्लाका कृषकलाई जिम्मेवार बनाउँदै कृषि उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु-याउने ‘अर्गानिक जिल्ला’ को आधार तयार गर्नु तालिमको प्रमुख उद्देश्य रहेको आयोजकको भनाइ छ ।
कार्यक्रमको समापन समारोहमा प्रमुख जिल्ला अधिकारी सीता परियारले “किसान र कृषि प्राविधिकको चासोले रुकुमपूर्वलाई अर्गानिक जिल्लाको दिशामा नजिक्याएको” बताउनुभयो । उहाँले आलु, सिमी, स्याउ लगायतका उत्पादनले रुकुमपूर्वलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका मुख्य प्रशिक्षक तथा ओसीएन नेपालका निर्देशक भोला कुमार श्रेष्ठले बाह्य मुल्यांकन मात्र भरपर्न नसकिने भएकाले आन्तरिक निरीक्षकहरुको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो । उहाँले जुम्लाको स्याउ अर्गानिक प्रमाणित भई विश्व बजारसम्म पुगेको उदाहरण दिंदै रुकुमपूर्वका आलु, सिमी, मह, कोदो, फापर र जडीबुटीलाई पनि त्यस्तै ब्रान्डिङ गर्न सकिने बताउनुभयो ।
अगुवा कृषक जिताराम कामीले किसानमा अझै चेतना अभाव रहेको भन्दै स्थानीय सरकारले यसमा गम्भीर ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
कृषि प्राविधिक तथा आन्तरिक निरीक्षक शिखर विश्वकर्माले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै अझ यस जिल्लाका कृषि प्राविधिक र किसानलाई धेरै तालिम, कार्यशाला र छलफल आवश्यक रहेको धारणा राख्नुभयो ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुमपूर्वका प्रमुख डिल्लीराज पौडेलले जिल्लामा उत्पादन हुने वस्तुको लेबलिङ र ब्रान्डिङ गर्ने कार्य अगाडि बढाइएको र किसानलाई नै जिम्मेवार बनाउने गरी सचेतना तथा छलफललाई निरन्तरता दिइरहेको जानकारी दिनुभयो ।
पुथा उत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाका कृषि प्राविधिक, अगुवा किसान र सहकारी व्यवस्थापकहरुले जिल्लालाई साँच्चिकै अर्गानिक जिल्ला बनाउने अभियानमा आ-आफ्नो तर्फबाट इमानदारीपूर्वक योगदान गर्ने सामुहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालमै पहिलो पटक अर्गानिक जिल्ला घोषणा भएको जुम्ला अहिले विश्व बजारमा “हिमाली अर्गानिक स्याउ” को नामले परिचित भएको छ । त्यसैगरी सिन्धुली र दुधे क्षेत्रमा समेत तरकारी र अदुवा अर्गानिक ब्रान्डमार्फत बजारमा पुर्याउने प्रयास ले सबैको ध्यान तानेको छ । यस्ता उदाहरणबाट रुकुमपूर्वले पनि आफ्ना उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सके विश्वास बजारको ध्यान यहाँ केन्द्रित हुनेमा कुनै शंका छैन ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख डिल्लीराज पौडेलको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख आतिथ्यता प्रमुख जिल्ला अधिकारी सीता परियारले गर्नुभएको थियो भने विशेष आतिथ्यतामा ओसीएन नेपालका निर्देशक भोला कुमार श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा नेपाल पत्रकार महासंघ रुकुमपूर्वका सचिव निराजन सिर्पाली, कृषि प्राविधिक, अगुवा कृषकलगायतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वका अधिकृत थल बहादुर बस्नेतले गर्नुभएको थियो ।।



































प्रतिक्रिया