रुकुमपूर्व । सिस्ने गाउँपालिकामा बजार अनुगमनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । व्यापार, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्ज बाँकेको आयोजनामा र सिस्ने गाउँपालिकाको सहयोगमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बजार अनुगमनका क्रममा देखिएका समस्या, उपभोक्ता अधिकार संरक्षण, मूल्य नियन्त्रण, गुणस्तरीय सामानको सुनिश्चितता लगायतका विषयमा छलफल भएको थियो । साथै, विभिन्न समयमा अनुगमनका क्रममा देखिएका चुनौतीहरूको प्रस्तुतीकरण पनि गरिएको थियो ।
सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी र प्रमुख जिल्ला अधिकारी सीता परियारले बजार व्यवस्थापन व्यवस्थित बनाउन निरन्तर अनुगमन आवश्यक रहेको बताए । उद्योग वाणिज्य संघ रुकुमपूर्वका अध्यक्ष केबेन्द्र गौतमले उपभोक्तालाई सचेत बनाउन जनचेतनामूलक कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ रुकुमपूर्वका अध्यक्ष बशनन्त बाँठा मगरसहितका मिडियाकर्मीहरूले मासिक बजार अनुगमन र जिम्मेवार निकायहरूको सक्रियता अझै बढाउनुपर्ने सुझाव दिएका थिए ।
व्यापार, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख हरि बहादुर खत्रीले १६ जिल्लामा जिम्मेवारी भएकाले चुनौती रहेको स्वीकार गर्दै आगामी दिनमा समन्वय र सहकार्य गर्दै प्रभावकारी अनुगमन गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रम प्रमुख खत्रीको अध्यक्षतामा, गाउँपालिका अध्यक्ष रेग्मीको प्रमुख आतिथ्यतामा तथा प्रमुख जिल्ला अधिकारी परियारको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिकाका पदाधिकारी, उद्योग वाणिज्य संघ, सरोकारवाला निकायका प्रतिनिधि, पत्रकार तथा उपभोक्ता अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।



































प्रतिक्रिया