रोल्पा — माडी गाउँपालिका–६ कोर्चाबाङ, पुनाथोकमा स्वास्थ्य लालीगुराँस आमा समूहले पदाधिकारी तथा सदस्यहरूका लागि ‘क्षमता विकास र उत्प्रेरणा कार्यक्रम’ सम्पन्न गरेको छ।
जिल्ला समन्वय समिति रोल्पाका सदस्य शेरबहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजसेवी, स्थानीय अगुवा र विभिन्न अतिथिहरूको उपस्थिति थियो। अतिथिहरूले आमा समूहको सामाजिक योगदानको प्रशंसा गर्दै नयाँ सीप र प्रविधि आत्मसात गरी कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुझाव दिए।
दुई चरणमा सम्पन्न कार्यक्रममा पहिलो चरण उद्घाटन सत्र र दोस्रो चरण सहजीकरण सत्र रहेको थियो। प्रशिक्षक खेम बुढाले नेतृत्व सीप, समूह व्यवस्थापन, समस्या समाधान, कानुनी परामर्श, तथा परियोजना प्रस्ताव तयार गर्ने सीपबारे प्रशिक्षण दिए।
आमा समूहले मातृ–शिशु स्वास्थ्य, शिक्षा, स्वच्छता, विपद् व्यवस्थापन, वातावरण संरक्षण, घरेलु हिंसा न्यूनीकरण र आयआर्जनमा निरन्तर सक्रियता देखाउँदै आएको छ।
सहभागीहरूले यस्ता कार्यक्रममा महिला नेतृत्व, आत्मविश्वास र सामाजिक चेतना अभिवृद्धि हुने बताएका छन्। समापनमा आमा समूहले क्षमता विकास, आयआर्जन, सहुलियत ऋण सुविधा, स्थानीय उत्पादनको बजार विस्तार र सीपमूलक तालिमको दायरा बढाउने प्रतिबद्धता जनाएको छ।














प्रतिक्रिया