रुकुमपूर्व — भूमे गाउँपालिका–३ स्थित हरियाली जन युवा क्लबले आयोजना गरेको १८औं वार्षिक उत्सवको उद्घाटन समारोह आइतबार भव्य रूपमा सम्पन्न भएको छ। वार्षिकोत्सवको अवसरमा पुरुष तथा महिला ३५ वर्षमाथिका खेलाडीहरूबीच भलिबल प्रतियोगिता सुरु गरिएको छ। साथै, विविध सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालनमा आएका छन्।
उद्घाटन समारोहका प्रमुख अतिथि भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले युवाको सशक्तिकरण र विकास निर्माणका लागि खेलकुद अपरिहार्य भएको उल्लेख गर्नुभयो। उहाँले युवाको ऊर्जा सिर्जनात्मक दिशामा उपयोग गर्न खेलकुदले सकारात्मक भूमिका खेल्ने धारणा राख्नुभयो।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै गाउँपालिका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष नारायण पनुमगरले खेलकुदलाई केवल मनोरञ्जनको माध्यम भनेर सीमित नराखी राष्ट्रनिर्माण, सामाजिक रूपान्तरण, अनुशासन र नेतृत्व विकासको आधारको रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
वडा नं. ३ का अध्यक्ष परशुराम बुढामगरले क्लबले हरेली पूजासँगै खेलकुदलाई जोडेर कृषि, संस्कृति र युवाको सहभागिता सुनिश्चित गरेको उल्लेख गर्नुभयो। उहाँले हरेली पूजाले परम्परा जोगाउने काम गर्दा खेलकुदले सामाजिक एकता र युवा उत्साहलाई प्रवर्द्धन गर्ने बताउनुभयो।
त्यस्तै, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रुपधन कामीले शुभकामना मन्तव्यका क्रममा रुकुमपूर्वको सदरमुकाम सम्बन्धी विवादलाई पनि उठाउनुभयो। सरकारको हालको निर्णयले भूमे र पुथा गाउँपालिकाका जनताको पक्ष बेवास्ता गरिएको भन्दै उहाँले सर्वोच्च अदालतमा रिट दायर गरिएको जानकारी दिनुभयो र निर्णय पुनर्विचार हुनुपर्ने माग गर्नुभयो।
क्लबका व्यवस्थापक तथा अखिल (क्रान्तिकारी) रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाइलीले हरेली पर्वको ऐतिहासिक सन्दर्भ प्रस्तुत गर्दै क्लबले निरन्तर संघर्षका माध्यमबाट वर्तमान स्तरमा पुग्न सफल भएको बताउनुभयो। उहाँले खेलकुदलाई चेतना, परिवर्तन र सामाजिक जिम्मेवारीतर्फ डो¥याउने माध्यमका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
नेपाली कांग्रेस वडा सभापति भीमबहादुर पुनले यस्ता प्रतियोगिताले गाउँमा लुकेर बसेका प्रतिभाहरूलाई उजागर गर्ने र उनीहरूलाई राष्ट्रिय स्तरमा पुर्याउने अवसर दिने बताउनुभयो।
कार्यक्रम क्लबका अध्यक्ष अनक रामदामको अध्यक्षतामा सम्पन्न भएको थियो। भने भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन शहिद शुक्र माध्यमिक विद्यालय, सिमाका लेखापाल राजन पुन मगरले गर्नुभएको थियो भने स्वागत मन्तव्य क्लबका सचिव भरत पुनले प्रस्तुत गर्नुभएको थियो।














प्रतिक्रिया