स्थानीय सरकार

भूमे गाउँपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न, शिक्षा–स्वास्थ्यप्रति गम्भीर चासो



बालाराम शेर्पाली;

रुकुमपूर्व — भूमे गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को अन्तिम सार्वजनिक सुनुवाइ कार्यक्रम सोमबार सम्पन्न गरेको छ। खाबाङबगरस्थित गाउँ कार्यपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा पालिकाले घरदैलोमै पुगेर नागरिकका गुनासा सुन्ने प्रक्रिया टुंग्याएको जानकारी दिएको छ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, उपाध्यक्ष सविना बुढामगर, सबै नौ वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत देविलाल बिक, शाखा प्रमुखहरू, शिक्षक, सरोकारवाला निकायका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति रहेको थियो।

सुनुवाइमा सहभागी स्थानीयले शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक सुरक्षालगायतका विषयमा समस्या र गुनासा प्रस्तुत गरे। सरकारी विद्यालयमा दरबन्दी अभाव, कमजोर पठनपाठन, स्वास्थ्य चौकीमा नियमित सेवा नहुनु, अपूरा संरचना, तथा कृषि कार्यक्रम प्रभावहीन भएकोबारेमा चासो व्यक्त गरिएको थियो।

वडाध्यक्षहरूले सामाजिक सुरक्षा भत्ता तथा आधारभूत सेवा पुर्‍याइएको भए पनि कक्षा ८ र १० को शिक्षामा गुणस्तर अभाव रहेको बताए। विद्यालयको वार्षिक परीक्षा सञ्चालन सम्बन्धी प्रश्न पनि उठाइएको थियो। स्थानीय गोवर्धन बुढामगरले भूमे–२ गाबाङमा अझै पनि टिनको त्रिपालमुनि पढाइ भइरहेको भन्दै स्थायी भवन नबन्नुमा गुनासो गरे।

जवाफमा अध्यक्ष श्रेष्ठले पालिका शिक्षा र स्वास्थ्य सुधारमा निरन्तर लागिरहेको भए पनि अपेक्षित नतिजा नआएको भन्दै अब थप गम्भीर छलफल गरिने बताए। उपाध्यक्ष बुढामगरले पालिका नागरिकको दोस्रो अभिभावक भएकाले सबै समस्या समाधानमा प्रतिबद्ध रहेको बताइन्।

प्रमुख प्रशासकीय अधिकृत बिकले चालु आर्थिक वर्षमा पालिकाले ८८ प्रतिशतभन्दा बढी विकास योजनाको कार्यान्वयन गरिसकेको र सेवा प्रवाहलाई अझ प्रभावकारी र नागरिकमैत्री बनाउन लागिरहेको जानकारी दिए।

सार्वजनिक सुनुवाइमार्फत उठेका सुझावलाई नीति निर्माण र कार्यान्वयनमा प्राथमिकता दिने भूमे गाउँपालिकाको प्रतिबद्धता रहेको छ। कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ, रुकुमपूर्वका उपाध्यक्ष बालाराम शेर्पालीले गरेका थिए।

यद्यपि कार्यक्रमको सहभागी संख्या अपेक्षा अनुसार नहुँदा केही सरोकारवालाले चिन्ता व्यक्त गरेका थिए।

प्रकाशित : ३१ असार २०८२, मंगलबार, ,