सरकार र नेपाल शिक्षक महासंघबीच वैशाख १७ गते भएको ९ बुँदे सहमति अनुसार असार १५ भित्रै शिक्षा विधेयक पारित गरिनुपर्ने थियो। तर तोकिएको म्याद सकिँदासमेत विधेयक समितिबाट समेत पारित हुन नसकेपछि महासंघ पुनः आन्दोलनको तयारीमा उत्रिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सहमति भइसकेपछि खुसीसाथ क्याबिनेट बैठक र प्रधानमन्त्रीसँग छलफल गरी विधेयक अगाडि बढाउने घोषणा गरेका थिए।प्रतिनिधिसभाको शिक्षा समितिका सभापति अम्मरबहादुर थापाले पनि असार १५ भित्र विधेयक पारित हुने प्रतिबद्धता व्यक्त गरेका थिए।
तर, सरकारको भनाइ अनुसार न विधेयक समितिबाट पास भयो, न संसद्मा पेस नै भयो।आज आइतबारसम्म पनि शिक्षा समितिको बैठकले विधेयक पारित गर्न सकेन। लामो छलफलपछि समितिको बैठक भोलि सोमबार बिहान ८ बजे पुनः बस्ने गरी स्थगित गरिएको छ।
समितिमा विवाद: शिक्षा मन्त्रालयले थप ३३ बुँदे प्रस्ताव ल्याएर सहमति तोड्यो
समिति सदस्यहरूका अनुसार विधेयकमाथि गठित उपसमितिले सहमति टुंग्याइसकेपछि पनि शिक्षा मन्त्रालयले ३३ बुँदे छुट्टै प्रस्ताव ल्याउँदा प्रक्रिया अवरुद्ध भएको हो।पूर्वशिक्षामन्त्री तथा समिति सदस्य सुमना श्रेष्ठले मन्त्रालयको व्यवहार अनुचित रहेको भन्दै आपत्ति जनाएकी छिन्। उनले भनिन्— “उपसमितिले टुंग्याएपछि मन्त्रालयको छुट्टै धारणा आउनु नाजायज हो।”
शिक्षक महासंघको चेतावनी: फेरि आन्दोलनमा जान्छौं
सरकारले गरेको सहमति उल्लंघन गरेको भन्दै नेपाल शिक्षक महासंघ फेरि आन्दोलनमा जाने तयारीमा जुटेको छ।महासंघकी सहअध्यक्ष एवं आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले आज बिहान सिंहदरबारमा शिक्षा मन्त्री र सभापतिलाई भेटेर मागहरू राखेको जानकारी दिइन्।उनले भनिन्—“अब हामी बैठक बसेर आन्दोलनको नयाँ चरण घोषणा गर्छौं।”
वर्षौंदेखि अड्किएको विधेयक, पटक–पटक आन्दोलन
शिक्षा विधेयक ०८० साल असोज २५ गते संसद्बाट दफावार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको थियो।तर दुई वर्ष पुग्न लाग्दा पनि समितिले टुंगोमा पुर्याउन सकेको छैन। यही कारणले शिक्षक महासंघ पटक–पटक आन्दोलनमा उत्रँदै आएको छ।
गत चैत २० देखि वैशाख १७ सम्म चलेको आन्दोलनमा देशभरका शिक्षक काठमाडौं केन्द्रित भएर उत्रेका थिए।२९ दिनसम्म चलेको उक्त आन्दोलनका कारण देशभरको पठनपाठन प्रभावित भएको थियो।














प्रतिक्रिया