स्थानीय सरकार

सिस्ने गाउँपालिकाद्वारा ५९ करोडको बजेट सार्वजनिक



रुकुमपूर्व, — सिस्ने गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ५९ करोड ७७ लाख १८ हजार ३१२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न १७औं गाउँसभा बैठकमा उपाध्यक्ष गोपाल रेउले आगामी वर्षको नीति, कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन् ।

यस वर्षको बजेटमा गाउँपालिकाले सेवा प्रवाह र पूर्वाधार विकासलाई समान प्राथमिकता दिएको छ। चालू खर्चतर्फ ४० करोड ८० लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन कुल बजेटको ६८.२६ प्रतिशत हो। यस रकमबाट प्रशासनिक सुदृढीकरण, जनसेवा तथा सामाजिक कार्यक्रमहरू सञ्चालन गरिनेछ। बाँकी ३१.७४ प्रतिशत अर्थात् १८ करोड ९६ लाख ८३ हजार ३१२ रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याइएको छ, जसले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र खानेपानीजस्ता प्राथमिक क्षेत्रहरूमा लगानी गर्ने लक्ष्य राखिएको छ।

गाउँपालिकाले प्रस्तुत बजेट कार्यान्वयनका लागि आवश्यक स्रोत व्यवस्थापनसमेत स्पष्ट पारेको छ। संघीय सरकारबाट करिब ५३ करोड रुपैयाँ, प्रदेश सरकारबाट ४ करोड ५० लाख रुपैयाँभन्दा बढी, र आन्तरिक आम्दानीबाट १ करोड २९ लाख रुपैयाँ संकलन गर्ने योजना बनाइएको छ। स्रोतको विविधिकरण, समन्वय र पारदर्शितामार्फत बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने गाउँपालिकाको उद्देश्य छ।

उपाध्यक्ष रेउले बजेट प्रस्तुत गर्दै स्थानीय आवश्यकता र जनताको चाहनाअनुसार नीतिहरू तय गरिएको जनाए। उहाँले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै भौतिक र सामाजिक विकासबीच सन्तुलन कायम गरिने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । गाउँपालिकाले आगामी वर्ष पारदर्शिता, जवाफदेहिता र जनसहभागितालाई प्राथमिकतामा राख्दै विकासलाई परिणाममुखी बनाउने स्पष्ट संकेत दिएको छ।

सार्वजनिक गरिएको बजेटलाई स्थानीय समृद्धि र स्थायीतर्फको सकारात्मक कदमको रूपमा लिइएको छ।

प्रकाशित : ११ असार २०८२, बुधबार, ,